असोज ०६, २०८१, आइतबार
               

स्वास्थ्यकर्मीसहित संक्रमित भेट्न जनप्रतिनिधी घरघरमा

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

तनहुँ । जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना संक्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो ।

घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । गाउँपालिकाको वडा नं ३ रामकोटका १८ र वडा नं ५ याम्पाका नौ गरी २७ संक्रमितलाई भेटघाट गरी सान्त्वना दिनुको साथै सुरक्षित भएर रहन आग्रह गरिएको उनले बताए । रामकोटमा बाक्लो बस्ती भएका कारण सुरक्षित हुन कठिनाई देखिएकाले सचेत गराउनको लागि पनि स्वास्थ्यकर्मीको सहित गएको हो  ।

रामकोट क्षेत्रमा घरहरू जोडेर बनाइएको छ । यहाँ १०० बढी मगर समुदायको बाक्लो बस्ती छ । संक्रमित भई होम आइसोलेशनमा रहेकाको आत्मबल बढाउनका लागि पनि घरघरमा पुगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

संक्रमित भई आइसोलेशनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आहारबिहारलगायत विषयमा सचेत गराइएको उनहाँले जानकारी दिए । घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा संक्रमितहरू खुशी भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि