बैशाख ०७, २०८१, शुक्रबार
               

यस्ता छन्, उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकका निर्णय

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाबाहिर जानका लागि १० दिन क्वारेन्टाइनमा बस्‍ने सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । योसँगै सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धता गरी  सिफारिस गरे मात्र उपत्यका बाहिर जान पाइने भएको छ । 

त्यस्तै पत्रकार तथा सञ्‍चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने र विभागको प्रेस पास नभएका सञ्‍चारकर्मी/कर्मचारीको हकमा सम्बन्धित सञ्‍चार गृहहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनु पर्ने निर्णय गरिएको छ ।

थप निर्णयहरु

अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बिमा लगायतका कार्यालयहरु एक चौथाइ कर्मचारीमात्र उपस्थित हुने गरी सञ्‍चालन गर्न व्यवस्था मिलाउने ।
सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचय पत्रका आधारमा आवातजावत गर्न दिने ।
बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्‍चालन गर्ने व्यवस्था मिलाउने । सो को विवरण नेपाल राष्ट्र बैंक जिल्ला प्रशासन कार्यालयलाई दिने ।
बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्‍चालनको हकमा सीमित सवारी पास जारी गरी सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने ।
अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने ।
विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्‍चालन गर्ने/गराउने । 
फुटपाथ तथा खुला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्‍चालन हुने विभिन्‍न व्यापार व्यवसाय सञ्‍चालन एवं कवाडी स‌ंकलन गर्न रोक लगाउने ।

यो पनि