पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढेपछि गम्भीर बिरामीहरूको उपचारका लागि आवश्यक शैय्या र अक्सिजनको चर्को अभाव त छँदैछ । अर्को तिर मृत्यु भएकाहरूको अन्त्येष्टि गर्ने स्थानको समेत अभाव हुन थालेको छ ।
सङ्क्रमण दर बढेसँगै मृत्युदर समेत बढेको छ । देशभर लगातार कोरोनाबाट ज्यान गुमाउनहरुको सङ्ख्या बढिरहेको छ । कोरोनाबाट मृत्यु भएकाहरूको अन्त्येष्टि नेपाली सेनाले गर्दै आएको छ । यसअघि कोरोनाबाट मरेकाको अन्तिम संस्कार हुँदै आएको पशुपतिस्थित विद्युतीय शवदाह गृहले लासको चाप थेग्न नसकेपछि बागमतीको किनारामा दाह संस्कार गरिन थालिएको छ । हिजोआज पशुपति जाने जो काेहीको आँखा अगाडी भारतमा शव दाह भइरहेको भाइरल तस्बिर नाच्ने गरेको छ । ती दृश्य देख्ने सबैको आँखा एक पटक रसाउने नै गरेको छ ।
कोरोनाबाट मर्नेहरुको सङ्ख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सोमबारदेखि बागमती किनारमा शव जलाउन थालिएको हो ।
कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या निरन्तर बढ्दै जाँदा अन्तिम संस्कारका लागि वैकल्पिक व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषका एक अधिकारीले नेपाल फ्ल्याससँगको कुराकानीमा भने ‘विद्युतीय शव दाह गृहमा तीन वटा मेसिन छन् । तीन वटै मेसिनले शवको भार थेग्न नसकेपछि बागमती किनारमा शव जलाउन थालिएको हो ।’ अहिले आर्यघाटमा जस्तो लासको भीड आफूले यसअघि कहिल्यै नदेखेको स्थानीय बताउँछन् ।
यस कारण बागमती किनारामा शव जलाइन्छ
विद्युतीय शव दाहमा रहेको एक मेसिनले दैनिक अधिकतम १२ वटा शव जलाउन सक्छ । तर मेसिनहरू अल्टरनेट गरेर चलाउने गरिएको छ । एकसाथ चलाउँदा एकैचोटी सबै बिग्रिने सम्भावना रहने र मेसिनले आराम पनि नपाउने अवस्था आउँछ । मेसिनमा एउटा शव जलाउन विद्युतीय शवदाह गृहमा औसतमा एक घण्टा लाग्ने गर्छ।
एउटा शव जलाएपछि मेसिनलाई केही समय विश्राम दिनु पर्ने भएकाले तीन वटै मेसिन एकसाथ नचलाइने गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यस कारण पालैपालो मेसिन चलाएर शव जलाउने र बाँकी शव भने पशुपति किनारमा जलाउन थालिएको कोषले जनाएको छ । जस कारण सोमबार ४ वटा र मंगलवार बिहान ७ वटा शव बागमती किनारमा बनाइएको अस्थायी चितामा जलाइएको कोषले जनाएको छ।
पछिल्ला केही दिनयता दैनिक कोभिड–१९ बाट मृत्यु भएका ३५–४० जनाको शव आउने गरेको कोषले जनाएको छ। अस्पतालहरूबाट सेनाले शव सङ्कलन गरेर ल्याउँदा अघिल्लो दिन मृत्यु भएकाहरू पनि हुने हुँदा मृत्यु कम भएका दिनमा समेत पशुपतिमा लासको भिड हुन्छ ।