जेठ ०४, २०८१, शुक्रबार
               

भीषण आगलागीबाट रोल्पामा ३७ घर परिवार बिचल्लीमा

नेपाल फ्ल्यास
बैशाख २०, २०७८

ADVERTISEMENT

रोल्पा । यही वैशाख १३ देखि १६ गतेसम्म भएको भीषण आगलागीबाट घरसम्पत्ति गुमाएका त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका ३७ घरपरिवार  बिचल्लीमा परेका छन् ।  आगलागीबाट घर गुमाई खुला आकाशमा बस्न बाध्य उनीहरुलाई केही दिनयता परेको अविरल वर्षाका कारण पीडा थपिएको छ ।

घरसँगै लत्ताकपडा, अन्नपात र नगद सबै जलेर नष्ट भएपछि सडकमा बस्न वाध्य उनीहरुलाई सामान्य राहत उपलब्ध भए पनि ओत लाग्ने घरको अभावले दिनचर्या जटिल बन्दै गएको छ ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा, प्रतिनिधिसभा सदस्य वर्षमान पुन तथा प्रदेशसभा सदस्य दीपेन्द्र पुन र सम्बन्धित वडाका वडा कार्यालयले प्रतिपरिवार एकएक बोरा चामल उपलब्ध गराए पनि बास गुमाएका उनीहरुको दिनचर्या  निकै कष्टकर देखिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपाल रोल्पाले आगलागी पीडित परिवारका १७० व्यक्तिका लागि दुई लाख रुपैयाँ बराबरको लत्ताकपडा वितरण गरेको छ । एमाले लुम्बिनी प्रदेश  समितिका सचिवालय सदस्य ईश्वरी घर्तीका अनुसार आगलागी पीडितका मागका आधारमा  युवा संघले उक्त  राहत हस्तान्तरण गरेको हो । 

विभिन्न व्यक्ति तथा संस्थाले दिएको राहतले बिहानसाँझको छाक टार्न सहज भए पनि ओत लाग्ने छानो नहुँदा उनीहरुको दैनिकी कष्टकर भएको नेतृ घर्तीले बताइन् । वर्षात्को समय नजिकिँदै गएकाले उनीहरुलाई  सुरक्षित  बासका लागि पहल भइरहेको उनको भनाइ छ । 

बस्ती नजीकैबाट सल्किएको आगलागीबाट त्रिवेणी २, ३ र ६ का चेत्रे, धानवाङ, कापडाँडा, पिराले, बुर्तिवाङ तथा  रुन्टीगढी ९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए ।  आगलागीबाट गोठमा बाँधिएका पशु समेत जलेर नष्ट भएका थिए ।

लामो समयको खडेरीसँगै लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल  प्रहरी तथा स्थानीयवासीले प्रयास गरेका थिए । चार दिनसम्म लागेको आगो वर्षात सुरु भएपछि भने नियन्त्रणमा आएको थियो ।

आगलागीबाट रोल्पामा हरेक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुन्छ । भिरालो जमीन र सल्लाको वन भएका कारण  जिल्लाका वन क्षेत्र आगलागीको उच्च जोखिममा छन् ।

रोल्पामा ४५  प्रतिशत सल्लाको र २२ प्रतिशत मिश्रित वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक र मानवीय कारणबाट आगलागी हुने गरे पनि यहाँ हुने शतप्रतिशत आगलागी मानवीय कारण हुने गरेको डिभिजन वन अधिकृत दधिलाल  कँडेलले बताए । 


कस्तो लाग्यो ?

यो पनि