जेठ ०४, २०८१, शुक्रबार
               

निषेधाज्ञाबीच बागमती सफाइ महाअभियान जारी

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा बागमती सफाइ महाअभियानको ४१६औँ हप्ताको सफाइ गरिएको छ । 

पशुपति क्षेत्रस्थित बागमती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा बागमती सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवम् अभियानकर्मी डा माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । 

सफाइमा काठमाडौ| महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अधिकार सम्पन्न बागमती समितिका सरस्वती निरौलाको सक्रियता थियो । सफाइका क्रममा पशुपति क्षेत्रमा फोहर देखिएको अभियानकर्मी खरेलले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषमा धेरै सफाइकर्मी कर्मचारी भए पनि पशुपति क्षेत्र भने सफाइ हुननसकेको अभियानकर्मीको टिप्पणी छ । खोलाभित्र प्रवेश गरेर तीन अभियानकर्मीले सफाइ गरेकाे थियो । 

यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । करिब सात जनाको सहभागितामा भएको सफाइमा अभियानकर्मी प्रिया लामिछानेको जन्मदिनका अवसरमा नदी किनारमा वृक्षरोपणसमेत गरिएको थियो । 

यसैगरी गुह्येश्वरीमाथिको बागमती नदी क्षेत्रमा सफाइ गर्दै आएको बागमती सुन्दरता सरोकार मञ्चले गोठाटार पुलमुनिको साकुरा बगैँचा क्षेत्रमा सफाइ गरेको छ । सबै सफाइ अभियानका भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियान चाड पर्व, वर्षा, जाडो, भूकम्पको त्रास, कोरोना महामारीका बेलासमेत निरन्तर जारी छ ।

यसैगरी तिलगङ्गालगायत अन्य क्षेत्रको सफाइ अभियान भने आज टोल, घर, आँगन सफाइ गरी सम्पन्न गरिएको छ । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी हुँदा नदी किनार नजिक निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिएका थिए ऽ 

बागमती सफाइ महाअभियान सुरु भएपछि उपत्यकामा यसका सहायक नदी सफाइ अभियान पनि सुरु गरिएको छ । सहायक नदीमा पनि आज किनार नजिक निवास भएका अभियानकर्मीले निरन्तरता दिएको जनाइएको छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिर मुख्य सहर, प्रमुख नदी र सांस्कृतिक सम्पदास्थल क्षेत्रमा सफाइ अभियान जारी छ ।


कस्तो लाग्यो ?

यो पनि