जेठ ०६, २०८१, आइतबार
               

लकडाउनमा पनि एयरपोर्टमा ठेलमठेल, के कोरोना जहाजबाट सर्दैन ?

ADVERTISEMENT

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ दुईसाता निषेधाज्ञा समयमा अत्यावश्यकबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सवारी सञ्चालनमा रोक लगाइए पनि हवाई सेवा भने तत्काल बन्द नगर्ने सरकारले निर्णय गरेको छ । सो निर्णयअनुसार लामाे तथा छोटाे दूरीका सबै यातायात सेवा बन्द भएका छन् । त्यसको प्रत्यक्ष प्रभाव एयरर्पाेटमा परेको छ । 

गाडी बन्द भएपछि काठमाडौं उपत्यकाबाट बाहिर जाने र भित्रिने यात्रुहरूको एयरपोर्टमा ठेलमठेल छ । नेपालफ्ल्यासकर्मी निषेधाज्ञाको पहिलो दिन बिहीबार मध्यान १ बजे एयरपोर्ट आन्तरिक टर्मिनल केन्द्र पुग्दा त्यहाँ खुट्टा राख्ने ठाउँ थिएन । आन्तरिक टर्मिनल केन्द्रबाट भित्र छिर्ने, सम्बन्धित  एयरलाइन्सको बुथमा बोईङ पास लिने ठाउँ, डिपाचरका लागि यात्रुले विमान कुर्ने ठाउँलगायत सबै क्षेत्र भीडभाड थियो । यता यात्रु फर्कने स्थानमा जात्रा नै लागेको भेटियो । लगेज लिनेहरूको भीडभाड र तछाडमछाड थियो । जहाँको जस्तो भीड केही दिनअघि बसपार्कमा समेत देखिँदैनथ्यो ।

विमानस्थलको भीड भोगेका स्वयम यात्रुहरू भन्दै थिए, ‘सरकारले कोभिड महामारी न्यूनीकरणका लागि यातायात व्यवसाय मात्रै बन्द गरेर हुँदैन । हवाई सेवाबाट पनि कोभिड फैलिने जोखिम छ नि ।’

सरकारले हवाई व्यवसाय र यातायात व्यवसायबीच पक्षपात गरेको भन्दै यातायात व्यवसायी विरोध गर्दै आएका छन् । यातायात व्यवसायीहरूले सरकारको यो निर्णय विभेदकारी भएको गुनासो गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सरकारको निर्णय विभेदकारी भएको भन्दै दुःख व्यक्त गरे ।

‘गाडी बन्द गर्दा सरकारले जहाज किन बन्द नगर्ने ? गाडीबाट कोरोना सङ्क्रमण फैलिने जोखिम हुँदा जहाजमा हुँदैन, म आफै अहिले विमानस्थलमा अनुगमनमा छु यहाँको जति भीड यातायात सेवामा पनि हुँदैन, के कोरोना जहाज र एयरपोर्टबाट चाही सर्दैन ?,’ उनले प्रश्न गरे । 

सरकारको विभेदकारी नियम : यातायात संघ

निषेधाज्ञाको बेला हवाई सेवा सञ्चालन भइराख्ने हो भने यातायात व्यवसाय पनि सञ्चालन गर्न पाउनुपर्ने सिटौलाको माग छ ।

हवाई सेवा सञ्चालन खुला हुँदा यातायात व्यवसाय मात्रै बन्द गर्नु सरकारको विभेदकारी नीति भएको उनको भनाइ छ । ‘सरकारले हवाई व्यवसाय र यातायात व्यवसायबिच पक्षपात गरेको हो । सरकारले पक्षपात गर्‍यो भनेर हामी गाडी लिएर सडकमा आउने सोचमा त छैनौँ,’ उनले भने, ‘तर सरकारले कोभिड महामारी न्यूनीकरणका लागि यातायात व्यवसाय मात्रै बन्द गरेर हुँदैन । हवाई सेवाबाट पनि कोभिड फैलिने जोखिम छ नि !’

पछिल्लो समय कोरोना महामारी बढ्दै गएकाले सबै पक्ष सजग हुनुपर्ने बेला आएको तर सरकारले जहाज र गाडीमा विभेद गरेको अधिकांश व्यवसायीहरूको गुनासो छ ।

‘सरकारले अत्यावश्यक बाहेकका उद्योगधन्दा, पसल, कार्यालयहरू बन्द गरेपछि हाम्रो गाडी चल्दैन । तर काठमाडौंमा निषेधाज्ञा गरिसकेपछि जहाज मात्र किन खुला गर्ने ? जहाज चढ्नेलाई चाहिँ कोरोना लाग्दैन ?’ महानगर यातायातका पदाधिकारीहरू भन्छन् । जहाज चल्दा गाडीहरू पनि चल्न पाउनुपर्ने उनीहरु बताउँछन् ।

‘कोभिड रोकथाममा सबै हातेमालो गर्ने हो भने गरौँ । हामीमाथि मात्रै विभेद गर्ने हो भने जहाज चल्दा गाडी पनि चल्न पाउनुपर्छ,’ उनले भने । 

कोभिडका कारण लामो समय थलिएर उठ्न नपाउँदै आफूहरू पुनः थलिने अवस्थामा पुगेको भन्दै यातायात व्यवसायीहरू चिन्तामा छन् । कोभिड महामारीकै कारण ५० प्रतिशत यातायात व्यवसायी पलायन हुने अवस्था आएको उनीहरू बताउँछन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि