जेठ ०५, २०८१, शनिबार
               

तनहुँमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पको ६ वर्ष पूरा हुँदा तनहुँमा ६९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लामा १४ हजार ८ सय ३७ निजी आवास पूर्ण क्षति भएकामा हालसम्म १० हजार तीन सय ५९ आवास पुननिर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले जनाएको छ । 

कार्यालयका अनुसार हालसम्म व्यास नगरपालिकामा एक हजार पाँच सय ६, भानु नगरपालिकामा तीन हजार दुई सय ८१, भीमाद नगरपालिकामा सात सय ९८,शुक्लागण्डकी नगरपालिकामा एक हजार तीन सय १३, बन्दीपुर गाउँपालिकामा सात सय ९१, आँबुखैरेनी गाउँपालिकामा ६ सय १३, देवघाट गाउँपालिकामा चार सय ६३, घिरिङ गाउँपालिकामा दुई सय १३, म्याग्दे गाउँपालिकामा नौ सय ८७, र ऋषिङ गाउँपालिकामा तीन सय ९४ निजी आवास पुननिर्माण सम्पन्न भएको छ । 

 इकाई प्रमुख जयप्रकाश गुप्ताका अनुसार भूकम्पबाट व्यासमा दुई हजार एक सय , भानुमा चार हजार छ सय ५०, शुक्लागण्डकीमा दुई हजार नौ, भीमादमा एक हजार एक सय ९७, म्याग्देमा एक हजार चार सय १२, बन्दीपुरमा एक हजार ६३, आँबुखैरेनीमा आठ सय १३, देवघाटमा ६ सय ३७, ऋषिङमा पाँच सय ६० र घिरिङमा तीन सय २४ घर पूर्ण क्षति भएका थिए । जिल्लामा निजी आवास पुनर्निर्माणका लागि रु ३५ अर्ब ९७ करोड ५० लाख खर्च भएको छ । हालसम्म १४ हजार नौ सय ६ लाभग्राहीले पहिलो र ११ हजार ९ सय ७६ लाभग्राहीले दोस्रो किस्ता बापतको रकम बुझेका छन् । 

जिल्लामा १२ जना लाभग्राहीले पुनर्निर्माणका लागि रकम लिएकामा फिर्ता गरेका छन् । लाभग्राहीमा सूचीकृत भई सम्झौता गरेका उनीहरुले रकम फिर्ता गरेको गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार ११ जनाले रु ५० हजारका दरले रु पाँच लाख ५० हजार र एक लाभग्राहीले तेस्रो किस्ता बापतको तीन लाख गरी रु आठ लाख ५० हजार फिर्ता भएको छ । 


कस्तो लाग्यो ?

यो पनि