जेठ ०६, २०८१, आइतबार
               

धरहराको आधा काम सम्पन्न नहुँदै उद्घाटन, पूरै सम्पन्न हुन वर्षौँ लाग्ने

ADVERTISEMENT

काठमाडौं । १२ वैशाख २०७२ गते आएको कम्पन थेग्न नसकेर धरहरा गर्ल्याम्म ढल्यो । बाँकी रह्यो तीन तलाको भग्नावशेष धरहरा । पुरानै भग्नावशेष नजिकै अहिले अर्को २२ तले धरहरा ठडिएको छ । जसको शनिवार उद्घाटन हुँदैछ । उद्घाटन भएपश्चात् प्रयोगमा आउन सुरु हुनुपर्ने हो । तर, धरहरा चढ्न आतुर सर्वसाधारणको लागि भने त्यो खुला हुने छैन । 

किनकि शिलान्यास र उद्घाटन गर्न हतारो गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली धरहरामा पनि सोही कदम दोहोर्याइरहेका हुन् । प्रधानमन्त्रीको उद्घाटन मोहकै कारण अहिले ५० प्रतिशत पनि काम पुरा नहुँदै उद्घाटन गरिन लागेको हो । शनिवार उद्घाटन भए पनि धरहराको पुरै काम कहिले सकिन्छ भन्ने अझै टुङ्गो छैन ।

निर्माण कम्पनी जिआइइटिसी रमण जेभीले तयार गरेको ‘कस्ट इस्टिमेट तथा ड्रइङ डिजाइन’ अनुसार धरहराको सम्पूर्ण काम सक्न भने अझै वर्षदिन भन्दा बढी लाग्छ । जिआइइटिसी रमण जेभीका एक जना अधिकारी भन्छन् ‘धरहरा बनाउने भनेको २२ तले संरचना मात्र हाेईन, त्यहाँ वरिपरिका पार्क, पार्किङलगायत थुप्रै संरचना बन्न बाँकी नै छ । थुप्रै संरचना बनाउने हो, अहिले बाहिरबाट हेर्दा धरहराको संरचना ठडिएपनि अरू धेरै संरचना निर्माण बाँकी छ । यो काम सकिन बर्षदिन बढी लाग्छ ।’

प्राधिकरण भन्छ  : गौरवको विषय 

राष्ट्रिय पुनः प्राधिकरणले भने धरहराको मूल काम सकिएको दाबी गर्दै भूकम्प स्मृति दिवसको पूर्व सन्ध्यामा उद्घाटन गर्ने तयारी गरेहको बताएको छ । राष्ट्रिय पुन: निर्माण प्राधिकरणले भने भूकम्पले क्षतिग्रस्त सम्पदा उठ्नु गौरवको विषय भएकाले वैशाख १२ गतेअघि नै उद्घाटन गर्न लागिएको जनाएको छ । 

प्राधिकरणका सहप्रवक्ता एवं सूचना अधिकारी मनोहर घिमिरेले आठ–नौ महिना भित्रै सबै काम सकिने र अहिले भने एउटा धरहराको संरचना तयार भएकाले उद्घाटन गर्न लागिएको बताए ।

उनले भने, ‘प्राधिकरणले धरहरा निर्माणलाई दुई भागमा विभाजन गरेका छ, एउटा धरहराको संरचना र अर्को त्यस वरपरका संरचना । अहिले धरहराको संरचना पूर्ण रूपमा तयार भएकाले उद्घाटन गर्न लागेका हौँ, बाँकी संरचना बन्दै जाने छ ।’

सूचना अधिकारी घिमिरेले भनेझैँ धमाधम काम भयो भने त धरहरा वरपरका संरचना आगामी पुससम्ममा तयार हुन्छ । अनि धरहरा निर्माण गरिरहेको रमण कन्स्ट्रक्सनले धरहरा सरकारलाई हस्तान्तरण गर्छ । अनि मात्रै बल्ल सर्वसाधारणले उक्त धरहरा चढ्न पाउनेछन् । धरहरा चढ्न आतुर सर्वसाधारणको लागि भने त्यो खुला नहुने भएपछि प्रधानमन्त्रीले गर्ने भनिएको उद्घाटनको खासै महत्त्व नदेखिएको सरोकारवालाहरू बताउँछन् ।

बाँकी काम के के छन् ?

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधा सम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ । धरहराको संरचना बनेपनिपार्किङ, बगैँचातर्फको काम, सङ्ग्रहालय तथा बाल उद्यान लगायतका काम सुरु नै भएको छैन । गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर धरहरा परिसरमा पार्क बनाउन लागिएको छ । 

उक्त क्षेत्रमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेस्टुराँ, पार्किङ लगायतका सुविधा प्रदान गर्न संरचना बनाउने भनिएको छ ।

तीन अर्ब ८० करोड लागतमा २२ तले भवन निर्माण र गोश्वारा हुलाक रहेको क्षेत्रको सबै भागमा ३० फिट गहिरो तह खनेर तीन तले पार्किङ स्थल निर्माण गर्ने सम्झौता भएको थियो । धरहरा बनाउन सरकारले ४४ रोपनी जग्गासमेत प्रदान गरेको छ ।

धरहराको इतिहास

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी ललितत्रिपुरा सुन्दरीको सम्झनास्वरुप निर्माण गरेको धरहरा १९९० सालको भूकम्पले भत्काएको थियो ।

त्यसको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जबराले साबिकबमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए । ०७२ को भूकम्पले फेरि धरहरा भत्किएपछि यसको पुनः निर्माणको घोषणा अहिलेका प्रधानमन्त्री ओलीले नै गरेका थिए ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि