काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनःनिमार्णपछि धरहराको उद्घाटन गर्दै छन् । ६ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढालेको थियो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए ।
कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न ६ वर्ष लाग्यो । ६ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ ।
विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं। २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण सुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए ।
भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ ।
धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । धरहराको आज बिहान ११ः०० बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी उनले दिए ।
धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिने छ । जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिने छ । भीमसेन थापाले विसं १८८२ सालमा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ ।