बैशाख २३, २०८१, आइतबार
               

संघीयताले छुन नसकेको प्रतिनिधि गाउँ

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन् । भूगोल जोडिएको छ, मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति धेरै ठूलो फरक छ जस्तो लाग्दैन तर कथा अर्कै छ । 

वीरेन्द्रनगर र बराहतालबासीको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था निकै फरक छ । सो गाउँपालिका- ६ इखेनी गाउँको कथा अझ बढी कारुणिक छ । त्यसमा बालबालिकाको जीवन कथा झनै पीडादायक छ । वीरेन्द्रनगरमा चिल्ला सडक, कङ्क्रिट र सिमेन्टले बनेका पक्की घर, शैक्षिक तथा आर्थिक रुपले सम्पन्न नागरिक जीवनशैली भए पनि त्यसैसँग जोडिएको इखेनी गाउँ आज पनि बत्तीमुनिको अँध्यारो जस्तै छ । 

खरकै छाना भएका माटाका घर छन् । त्यहाँका नागरिकले आफ्नै ठाउँमा ज्यालादारी काम गर्न नपाएर भारतीय भूमिमा अपमानित भएर मजदुरी गर्नुपर्ने विवशताबाट मुक्ति पाउन सकेका छैनन् । तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र युद्धका बेला विसं २०६० मा इखेनीमा दलित बस्ती बसालेको थियो । हाल ९३ घरधुरी रहेको त्यहाँका नागरिकले आफ्नै ठाउँमा ज्यालादारी काम गर्न नपाएर भारतीय भूमि जानुपर्ने बाध्यता छ ।  गाउँमा सुनार, परियार, वादीलगायत दलित जातिका हातमा जग्गाधनीपूर्जा छैन । गाउँमा प्रायः अभिभावक बस्दैनन् । उनीहरु एकसरो कपडा फेर्न र केही कमाउन वर्षेनी कालापहाड धाउने गर्छन् । 
सन्तानका बाआमा नै कामका लागि कालपहाड नै जाने गरेको इखेनी जनजागरण आधारभूत विद्यालयका प्रधानाध्यापक पुष्पा रानाले राससलाई जानकारी दिनुभयो । ‘उनीहरु नियमित घर बस्दैनन् । बाबाआमा नै घरमा नबस्ने स्थितिले बालबालिकाको जीवन बढी सकसपूर्ण छ,’ रानाले भने, ‘अभिभावकविहीन बालबालिकालाई पढ्न र पढाउन कठिन छ । पोशाकका कुरै छाडौँ, कापी कलम नै नभएपछि उनीहरु स्कुल जाऊन् पनि कसरी ? यसले हामी शिक्षण गर्नेलाई पनि गाह्रो भएको छ । कति अभिभावक बालबालिका नै लिएर कालापहाड जान्छन् । नियमित पढ्न नपाउँदा मावि तहमा पुग्न नपाउँदै उनीहरुले पढाइ छाड्छन् ।’

उनका अनुसार धेरै बालबालिका अभिभावकविहीन् छन् । मजदुरीका लागि कालापहाड जानैपर्ने बाध्यताले धेरैले लामो समय उतै बिताउँछन् भनेकतिले त्यहीँ अकालमै ज्यान गुमाउँछन् । यो समस्या आजका दिनसम्म ज्यूँकात्यूँ रहेको र उनीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा कुनै फेरबदल नआएको रानाको भनाइ छ । 

‘भोको पेट भर्न बालविवाह’

वीरेन्द्रनगरबाट करीब ५५ किलोमिटर टाढा इखेनमी समथर भूमि भएकाले जमिन राम्रो छ, तर सिँचाइ र खानेपानीको चरम अभाव छ । सिँचाइ नभएका कारण त्यहाँ बसोबास गर्नेले अपेक्षित उत्पादन गर्न सकेका छैनन् । आयआर्जनका प्रभावकारी कार्यक्रम पनि त्यहाँ सञ्चालन भएको पाइँदैन । इखेनीको दलित बस्तीमा न कोही रोजगार छ न त खान पुग्ने उत्पादन हुन्छ ।उत्पादनको कमीले  अधिकांश कालापहाड जान्छन् । अभिभावकविहीन बालबालिका राम्रोसँग खाना खान पाउँदैनन् र प्रायः बालिकाले ‘भोको पेट भर्न बालविवाह’ गरेको प्रधानाध्यापक रानाको भनाइ छ । 

सुर्खेत पश्चिमका युवा नेता तथा समाजसेवी खड्ग बाँसपानीले गरीबीकै कारण बालविवाह बढेकाले इखेनीमा विकराल समस्या रहेको बताए । ‘साविक कर्णालीमा घोडा, खच्चर, हवाइजहाज त चल्छन् तर सुर्खेत पश्चिममा यस्ता विकल्प पनि छैनन्,’ उनले भने, ‘यहाँका नागरिकले घण्टौँ हिड्नुपर्छ । सुर्खेतको पश्चिम क्षेत्र हुम्ला, डोल्पाभन्दा पनि अति दुर्गम छ । नजिकमा भेरी नदी बगिरहेको छ । यसको किनारमा रहेका बस्तीमा खडेरी परिरहेको छ । नदीमा पानी बगिरहेको छ, बस्ती काकाकुल छ । भेरी नदीबाट लिफ्टिङ गरेर बाँझो भूमिमा सिँचाइ गर्न असहज छैन । खानेपानीको व्यवस्था गर्न निकै गाह्रोजस्तो पनि लाग्दैन ।  नेतृत्वको कमजोरीका कारण जमीन बाँझो र रुखो हुँदै गएको छ । त्यहाँका नागरिक कालापहाडको आर्जनले पालिन्छन् ।’

नेपालको संविधानले व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायत मौलिक हकको ठाडो उल्लङ्घन भइरहँदा हिजोदेखिको कुनै पनि नेतृत्व, समाजसेवी अधिकारीवादीले इखेनीवासीको अधिकारका निम्ति ठोस पहल नगरेको उनको टिप्पणी छ । मुलुक सङ्घीयतामा गइसकेपछि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने तीनै तहका सरकारको पनि खासै चासो नदेखिएको उनको आरोप छ । बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले इखेनी बस्तीका सबै परिवार भूमिहीन अवस्थामा रहेको जनाए । 

उनले सो बस्ती विकासको ठूलो चुनौती भनेकै सिँचाइ भएको बताए । ‘इखेनी गाउँका लागि अहिले ७० लाखमा हामी भेरी नदीको पानी लिफ्टिङ गर्दैछौँ,’ उनले भने, ‘अब एक डेढ महिनामा खानेपानी गाउँमा पुग्छ ।’

सिँचाइ आयोजना पनि भेरी नदीबाटै सञ्चालन गर्ने, तर त्यसका समय लाग्ने अध्यक्ष बस्नेतले जनाए । उत्पादनको कमी भएका कारण कालपहाड धाउने नागरिकको उक्त बस्तीमा सिँचाइ पुर्‍याउनसके त्यहाँको जीवनस्तर नै बदलिने उनको भनाइ छ । अध्यक्ष बस्नेतले भने, ‘सिँचाइ पुग्नेबित्तिकै अहिलेको सम्पूर्ण बाँझो जमिन उपयोगमा आउँछ । उत्पादन वृद्धि भएर बस्ती आत्मनिर्भर बन्छ ।’ यसका लागि सहयोग हाती आवश्यक रहेको उनको भनाइ छ । 

सो गाउँपालिका–६ का वडाध्यक्ष खगेन्द्रदेव गिरीले सिँचाइका साथै अशिक्षा, गरिबी र भोकको समस्याले हुने बालविवाह मानवीय विकासका लागि सबैभन्दा ठूलो चुनौतीको सवाल भएकोे बताए । उनले भने, ‘बालविवाह रोक्न जनचेतनाका कार्यक्रम अगाडि बढाइएको छ । यद्यपि बालबालिकाका अभिभावक नै मजदुरीका लागि भारत जान रोक्न नसकिनुले सञ्चालित योजना र कार्यक्रमले अपेक्षित लक्ष्य हासिल गर्न सकेको छैन ।’

गाउँमा एकल महिलालाई ऋण लिन र उधारो खाद्यान्न पाउन गाह्रो छ । उनीहरुलाई सहजै कसैले पत्याउँदैन । पौष्टिक खानाका कुरै छोडौँ, सामान्य खाना पनि पर्याप्त नहुँदा आमा तथा बालबालिका कुपोषित रहेको वडाध्यक्ष गिरीको भनाइ छ । उनकाअनुसार इखेनीमा ‘एक घर एक धारा’ को परियोजना निकट केही महिनामै सम्पन्न हुने गरी काम भइरहेको छ । 

चिया पकौडा बेचेर स्कुले नानीलाई सहयोग

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षकविद्यार्थीले यो हप्ता बराहताल–६ सुर्खेत इखेनीका १५० स्कुले बालबालिकालाई चिया पकौडा बेचेर पाठ्य सामग्री सहयोग गरेका छन् । विश्वविद्यालय सामाजिक कार्य विभाग स्नातक तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरका विद्यार्थीले फिल्ड कार्यका क्रममा चिया पकौडा बेचेर रु २० हजार आम्दानी गरी बालबालिकालाई एक खबराबरको पोसाक, कापी र सिसाकलम सहयोग गरिएको विभागका प्रमुख खगेन्द्र अधिकारीले बताए ।उनले भने, ‘५२ बालबालिकालाई विश्वविद्यालयका विद्यार्थीसँग सुर्खेत जिल्लाका विभिन्न प्राकृतिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको पनि अवलोकन गराइएको छ ।’

विभागीय प्रमुख अधिकारीले अगाडि भने, ‘बस्तीमा चरम समस्याका रुपमा देखिएको बालविवाह रोक्न बालक्लब गठन गरिएको छ । कुरीति र कुप्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न सामाजिक संघसंस्थाको सहकार्य एवं समन्वयमा समुदायमा प्रयोग हुँदै गरेको घरेलु मदिरा पूर्णरुपमा बन्द गर्ने अभियानका साथै ‘नमुनाबस्ती’ निर्माण गर्ने योजनामा सहयोग पुर्‍याइएको छ । 


कस्तो लाग्यो ?

यो पनि