मंसिर ०७, २०८१, शुक्रबार
               

गिद्ध मृत्युबारे बेवास्ता, दोषीउपर कारबाहीको माग

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

नवलपरासीको रामग्राम नगरपालिका-४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएपछि वातावरण संरक्षणको विषयमा ठूलो चिन्ता देखिएको छ । घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न विभिन्न क्षेत्रले प्रशासनसँग माग गरेका छन् । 

नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसंकटापन्न मानिन्छ। यस्तैगरी एक प्रजातिलाई संकटापन्न सूचीमा र तीन प्रजातिलाई संकटकोनजिक सूचीमा राखिएको छ। विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । गिद्ध संरक्षणमा संरक्षणकर्मी, समुदाय र गैरसरकारी संस्था जुटेको भए पनि सरकारी निकायबाट जति र जसरी काम हुनुपर्ने हो त्यो भएको पाइँदैन । नवलपरासी घटनामा सरकारी उदासिनताले गिद्धप्रति सरकारको चरम बेवास्ताकै उदारहण बनेको छ । 

अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै नेपाल भेटेरिनरी एसोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेको छ । यससँगै धेरै संघसंस्थाले आवाज उठाएका छन् ।

एसोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठ भन्छन्, ‘यति धेरै संख्यामा पशुपक्षीको हत्या गर्ने काम अमानवीय मात्र नभई ठुलो अपराध हो, यसमा जोजो संलग्न छन् कारबाही गरेर पशु कल्याणको आधारभूत न्यायमा ध्यान पुर्‍याउनुपर्छ ।’

त्यसैगरी, पक्षी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ पनि गिद्ध मृत्यू घटनाका लागि तत्कालै छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् । 
दुई दशकअघिसम्म गिद्ध संसारमै सबैभन्दा सहजै देख्न सकिने र ठूलो संख्यामा भेटिन्थे । तर, मानाव गतिविधिकै कारण अहिले गिद्ध संकटमा छन् । सन् १९८०/९० को दशकमा भारतीय उपमहाद्वीपमा पाइने गिद्ध तीव्र गतिमा घटेर लोप हुने अवस्थमा पुगेको विज्ञहरुको भनाइ छ ।

किन गिद्ध चाहिन्छ ?
गिद्धले सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्छ । गिद्ध प्रकृतिको कुचीकार हो । सिनो खाई हाम्रो वरपरको वातावरण प्रदूषित हुनबाट जोगाउँदा विभिन्न रोग फैलनबाट रोकी पर्यावरणीय चक्र खाद्यशृंखलाको सन्तुलन र गतिशीलताको संवाहकको रुपमा भूमिका निभाउँछ।

गिद्धले सिनो खाएर मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखला र पशुचौपायामा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोगजस्ता रोग तथा महामारीबाट बचाउँछ । धार्मिक आस्थासँग पनि गिद्ध जोडिएको छ।  शनि देवताको बाहनको रुपमा गिद्धलाई पुजिन्छ ।


कस्तो लाग्यो ?

यो पनि