काठमाडौं । शुक्रबार करिव दिनभर नै मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको हो ।
मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका थिए भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अन्तरराष्ट्रियतर्फ दमामबाट आइरहेको हिमालय एयरलाइन्सको जहाज बनारस डाइभर्ट भएको थियो ।
दिल्लीबाट आएको एयर इण्डियाको जहाज पनि बनारस डाईभर्ट गरिएको थियो । दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेज कोलकात्ता डाईभर्ट भएको छ । यस्तै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज दिल्लीबाट काठमाडौं आउँदै गरेकोमा मौसम खराबीले उतै फर्किएको विमानस्थलले जनाएको छ ।
आन्तरिकमा बुद्ध र यतीका सात उडान विभिन्न गन्तव्यमा डाइभर्ट भएका थिए । हिजो काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा अपराह्नपछि मौसम बद्ली भई चट्याङ–हावाहुरीसहितको वर्षा भएको थियो । काठमाडौं उपत्यकामा हल्का वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा १२ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धनकुटामा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।