काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो एक्कासि वर्षा भएको छ। कतिपय ठाउँमा स–साना असिना समेत परेका छन् । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरू समस्यामा परेका छन् । काठमाडौं उपत्यका बाहिर भने केही ठाउँमा घाम लागिरहेको छ ।
बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रवार अपराह्न मात्रै काठमाडौंमा वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागले हावाहुरी र चट्याङ पर्न पर्ने भए पनि ठुलो वर्षा नहुने बताएको छ । ठुलो वर्षा नभए पनि एक्कासि परेको पानीले सडकमा व्यापार गर्नेहरू, काम विशेषले यात्रा गर्नेहरू प्रभावित भएका छन् ।
वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन मद्दत पुग्ने विज्ञहरूले बताएका छन् ।
‘पानीका थोपासँगै वायुमण्डलमा तैरिएर रहेको प्रदूषणका कण जमिनमा झरेको छ,’ पूर्व सचिव समेत रहेका वरिष्ठ मौसम विज्ञ ऋषिराम शर्माले भने, ‘केही हदसम्म अब मौसममा सुधार आउने देखिन्छ ।’
उनका अनुसार पानी पार्ने प्रणाली विकाससँगै हावा समेत चलेकाले प्रदूषण घट्न मद्दत पुग्नेछ । ‘वर्षा र हावाले प्रदूषणको मात्रा घटाएपछि स्वतः वायुमण्डल सफा हुँदै जान्छ,’ शर्माले थपे, ‘ठुलो वर्षा भएको भए छ्याङ्गै हुन्थ्यो ।’