काठमाडौं । आजबाट पूरानो साल २०७७ साललाई बिदाई गर्दै नयाँ वर्ष ०७८ सुरु भएको छ । वि.स. २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ ।
गत वर्ष २०७७ साल कोरोनाको कारण विश्वकै डर लाग्दो वर्ष सावित भएको छ । आज नयाँ वर्ष सुरु भएसँगै देशका विभिन्न स्थानमा शान्तिको कामना गर्दै खुशी साटासाट गरिएको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्पूर्ण देशवासीका नाममा सम्बोधन गरेका छन् ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. माधव भट्टराईले बताए ।
‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।