असोज ०६, २०८१, आइतबार
               

रोग फाल्न तातोपानीमा डुबुल्की !

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनीनगरपालिका–४ सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले खचाखच भरिएको छ ।

जमीनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान गरेमा हाडजोर्नी, चर्म, ग्यास्ट्राइटिस, नशा, बाथ, ढाड दुख्ने, आङ खस्ने, पेट सुन्निने, गलगाँडलगायतका रोग निको हुने जनविश्वास छ । कुण्डको पानीबाट बिरेनूनको गन्ध आउछ ।
कुण्ड व्यवस्थापन समितिका अनुसार ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी यहाँ आउने गरेका हुन् । कुण्ड क्षेत्रमा साना ठूला तीन कुण्ड छन् । कुण्डमा एक पटकमा पाँच सय जनाले डुबुल्की मार्न सक्छन् ।

कुण्डमा दैनिक पाँच सयदेखि एक हजार जनासम्मले स्नान गर्दै आएका छन् । खासगरी असोजदेखि चैतसम्म बढी भीड लाग्छ । नुहाउनका लागि १५० को टिकट काट्नुपर्छ । कुण्डमा पुग्न म्याग्दी सदरमुकाम बेनीबाट नौ किलोमिटरको दूरीमा मोटरबाटो हुँदै जान सकिन्छ भने काठमाडौँबाट २९७ किलोमिटर टाढा पर्छ ।

कुण्डमा स्नान गर्ने आउने बिरामी पहिलो पटक भन्दा पटकपटक आएका अत्याधिक रहेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपाली बाहेक विदेशीले समेत नियमित स्नान गर्न थालेका छन् । 

पछिल्लो समय होटल व्यवसायसमेत फस्टाउन थालेपछि विदेशीले समेत हप्ता दिनसम्म स्नान गरेर फर्किने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । ‘नियमित आउने विदेशीको सङ्ख्या पनि बढ्न थालेको छ,‘समूहमै आउन थालेका छन्’ शाक्यले भने । 

देश, विदेशका ठूला अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाटसमेत रोक निको नभएपछि आजित भएका बिरामीसमेत यहाँ आएर एक सातादेखि १० दिनसम्म तातो पानी कुण्डमा डुबेपछि स्वास्थ्यलाभ गरेर फकिएका अध्यक्ष शाक्यले बताए ।

ठूला अस्पतालमा उपचार गराउँदा समेत निको नभएपछि अन्तिम विकल्पको रुपमा तातोपानीमा आउने गरेका बिरामीमा सबैभन्दा धेरै बागलुङ जिल्लाबाट आएका कुण्ड व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ । 

शरीरभरि फैलिएको घाउ, छाला फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाइते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने बिरामीको अनुभवले पनि कुण्डले धेरै बिरामीको परिवारमा खुशी थपेको छ । 

नेपालका विभिन्न जिल्लामा रहेका कुण्डका व्यवस्थापन समितिको भ्रमणको रोजाइँमा परेको म्याग्दीको तातोपानी कुण्ड नेपालकै उत्कृष्ट तातोपानी कुण्ड हो । विभिन्न जिल्लामा न्यून पूर्वाधार, निकै कम सङ्ख्यामा बिरामी पुग्ने गरेको अवस्थामा सिङ्गा तातोपानी कुण्डमा भने बाह्रैमहिना बिरामी आउने गरेका छन् । कुण्डको व्यवस्थापन, पूर्वाधार, बिरामीको चाप नेपालमै पहिलो र उत्कृष्ट भएको तातोपानी कुण्ड व्यवस्थापन समितिले दाबी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि