असोज ०६, २०८१, आइतबार
               

राजस्वमा हिनामिना गर्ने मालपोतका कर्मचारी कारागार चलान

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जना मालपोतका कर्मचारीलाई पुर्पक्षका लागि कारागार पठाएको छ ।

भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । उनले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिनामिना गरेका थिए ।

एक करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार परियारलाई पुर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय  जानकारी दिएको छ ।

परियारलाई जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारागार पठाइएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । सरकारी वकिल कार्यालयले सात वर्ष कैद माग दाबी गर्दै जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको थियो ।

परियारले सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भर्पाई गरी एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ हिनामिना गरेको आरोप छ ।


कस्तो लाग्यो ?

यो पनि