असोज ०६, २०८१, आइतबार
               

सरकारी विद्यालयका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

भरतपुर । चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो ।

विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर, नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमै राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापाले बताए । ‘नर्सरीका विद्यार्थीलाई चौरमा नै राखेर पढाएका छौँ’, उनले भने, ‘कोठा नै पुग्दैन, भुइँमा राख्न बाध्य छौँ ।’

विसं २०२४ मा बनाइएको विद्यालय भवन जीर्ण भइसकेको छ । ‘भवनको छतबाट प्लास्टर उप्किएको छ, कक्षाकोठाका भित्ता चिराचिरा परेका छन्, शिक्षक वा विद्यार्थी को–को घाइते हुने हुन् भनेर सधैँ मनमा त्रास भइरहन्छ’, प्रअ थापाले भने ।

विसं २०१९ मा स्थापना भएको यो विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ भइरहेको छ । विद्यालयमा तीन जनाको मात्रै सरकारी दरबन्दी छ । चार निजी स्रोतका शिक्षक छन् । आन्तरिक स्रोत नहुँदा उनीहरुलाई तलब दिन धौधौ छ ।

विद्यार्थीसँग उठाउने सामान्य रकम, विभिन्न दाताको सहयोगबाटै शिक्षकलाई जति सकिन्छ उति तलब दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताए । ‘शिक्षकहरुलाई भनेजति तलब दिने स्रोत नै छैन, सहयोग गर्नुस् भनेर अत्यन्तै कम रकममा काम लगाएका छौँ, यसोभन्दा मलाई निकै दुःख लाग्छ’, अध्यक्ष सापकोटाले भने ।

गत वर्ष भरतपुर महानगरपालिकाले दरबन्दी विद्यार्थी कम भएको भनेर दुई जनाको कटौती गरेको थियो । काटेको दरबन्दी विद्यार्थी सङ्ख्याका आधारमा फिर्ता गर्न भनेर आग्रह गर्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको गुनासो विद्यालयको छ ।

भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याबारे जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताए । विद्यालयको एक बिघा ९ धुर जग्गा छ । यसको उपयोग गरेर आन्तरिक आम्दानी हुन थालेपछि विद्यालयमा नेतृत्व हत्याउन भने तँछाडमछाड हुने गरेको अध्यक्ष सापकोटाले बताए ।


कस्तो लाग्यो ?

यो पनि