असोज ०६, २०८१, आइतबार
               

एउटै वडामा एकैदिन ९ वटा कार्यक्रम उद्घाटन

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा ९ वटा कार्यक्रम एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, चम्पावती मावि र महिला समूहको भवन तथा कम्प्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरण गरिने दिवाखाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याडसहित ९ कार्यक्रम उद्घाटन गरिएको हो ।

विजयखर्कस्थित वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्तरूपमा ९ वटा कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

नगरपालिकाको ७० लाख रुपैयाँको लागतमा सञ्जीव निर्माण सेवा प्रालिले वडा कार्यालय भवन निर्माणको काम सम्पन्न गरेर निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर विश्वकर्माले वडाध्यक्ष वीरेन्द्रप्रसाद ढकाललाई उक्त भवनको चाबी हस्तान्तरण गरेका छन् ।

नगरपालिकाको एक करोड ७० लाख रुपैयाँको लागतमा पुष्पाञ्जली कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण गरेको स्वास्थ्यचौकी भवनको चाबी पनि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

यता राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ७२ लाख र नगरपालिकाको २८ लाख रुपैयाँमा निर्माण गरिएको चम्पावती माविमा निर्माण गरिएको भवनको चाबी पनि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

नवनिर्मित विद्यालय भवनभित्र स्थापना गरिएको कम्प्युटर ल्याब र साइन्स ल्याब स्थापना गरिएको छ भने विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिर स्थापना गरिएको छ । महिला सामुदायिक भवन निर्माणका लागि विभिन्न निकायबाट विभिन्न समयमा गरी पाँच लाख रुपैयाँ प्राप्त भएको वडा सदस्य मनिषा खनालले बताइन् । 

संयुक्तरूपमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गादान गर्ने सात जग्गादातालाई समेत सम्मान गरिएको छ । वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुहुने सबै जग्गादातालाई नगरप्रमुख रिजाल र उपप्रमुख राईले सम्मान गरिन् ।

वडा कार्यालय भवन निर्माणका लागि वडाध्यक्ष ढकालले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । यस्तै स्वास्थ्यचौकी भवन निर्माणका लागि चन्द्रकुमारी पोखरेलले पनि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ । 

नगरपालिकाले विजयखर्कमा एकैसाथ आयोजना गरेको ९ वटा कार्यक्रमको उद्घाटनमा स्थानीय बासिन्दाको समेत उल्लेख्य उपस्थिति थियो । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायत सहभागी कार्यक्रममा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।  

भौतिक पूर्वााधार निर्माणमा सबैभन्दा अगाडि देखिएको उक्त वडामा सम्पूर्ण सुविधासहितका नयाँ भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि स्थानीय सरकारको अनुभूति भएको स्थानीय बासिन्दाले बताएका छन् ।

१५ वडा रहेको यस नगरपालिकामा यस वर्ष भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा ठूलो यो नगरपालिकामा यस वर्ष १५ मध्ये ११ वटा वडामा एउटै किसिमको भवन निर्माण भइरहेको छ ।

एउटा वडाका लागि ७० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । एउटै किसिमको सबै वडा कार्यालय भवन यही चैत मसान्तभित्र सम्पन्न हुने नगरप्रमुख रिजालको भनाइ छ । नगरपालिकामा निर्माणाधीन वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि