असोज ०६, २०८१, आइतबार
               

म्यानमारमा सैनिक शासनको विरोधमा दूतावास अगाडि प्रदर्शन

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । म्यानमार (बर्मा) मा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमनविरुद्ध, राजनीतिक बन्दीको बिना शर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरेको छ ।

सोमबार ललितपुर भैँसेपाटीस्थित म्यानमार दूतावास अगाडि दिउँसो भएको प्रदर्शनमा ‘म्यानमारः सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन’, ‘हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर’, ‘राजनीतिक बन्दी रिहा गर, मानवअधिकारको सम्मान गर’ लेखिएका ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं पूर्वसभापति उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईं, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनीलगायत अधिकारकर्मीको सहभागिता थियो ।

यसैगरी चितवन, बागलुङ, रुपन्देही, तेह्रथुम, पाल्पा र सङ्खुवासभामा पनि सोमबार शान्ति समाजका शाखाहरुले म्यानमारमा भइरहेको हत्या र दमनको विरोध गर्दै लोकतन्त्र वहालीको आग्रहसहित प्रदर्शन गरेका थिए ।  


कस्तो लाग्यो ?

यो पनि