असोज ०६, २०८१, आइतबार
               

विदेशबाट फर्केका युवा लागे केराखेतीमा

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् ।

वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका  पुगेका मोरङका १०  युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती लगाएका छन् ।

उक्त केरा खेतीबाट वार्षिकरुपमा प्रतिबिघा तीन लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सोम केराखेती कृषि फार्मका धनी सोमनाथ चापगाईंले जानकारी दिए । वैदेशिक रोजगारीमा तीन वर्षदेखि पाँच वर्षसम्म काम गरी स्वदेश फर्केका यी युवा व्यावसायिक केराखेती गरेर केही गर्ने सोचमा देखिएका छन् । तातो घाममा काम गर्नुभन्दा स्वदेशकै अनुकूल हावापानी र वातावरण काम गर्नु नै उचित ठानेका यी युवा कृषि क्षेत्रमा लागेका हुन् ।
    
परनिर्भरता हटाउने, व्यापार घाटा कम गराउने र स्थानीयस्तरमा रोजगार पनि सिर्जना गर्न सकिने भएकाले यसमा यी युवा आकर्षित भएका हुन् । अनेक सम्भावना रहेको हाम्रो मुलुकमा जाँगर नभएपछि विदेशिने गरेको र विदेशमा दुःख पाएपछि स्वदेशमै केही गर्न हिम्मत गर्नु सकारात्मक पक्ष रहेको कृषि निर्देशनालय विराटनगरका प्रमुख प्रकाश डाँगीले बताए ।

सुन्दर हरैँचा नगरपालिका निवासी उनी मोरङकै कानेपाखरीमा वार्षिक ५० हजार तिर्ने गरी लगाइएको केराखेतीमा ३० जना युवाले रोजगारी पाएका छन् । केरामा सबैको सजिलै पहुँच छ, तर उत्पादनमा कमजोर रहेको हाम्रो मुलुकमा केरा खासगरी भारतबाट आयात हुने गरेको छ । पछिल्लो समयमा केरा खाने उपभोक्ता बढेपछि यसको आपूर्तिमा मोरङ ,कैलाली, नवलपरासी र सुनसरी जिल्ला अघि सरेको छ । मोरङको होक्लाबारीमा लालुमाया कृषि फार्म, प्रगति कृषि फार्म, सोम केराखेती कृषि फार्म, अम्बरमणि कृषि फार्ममार्फत व्यावसायिक केराखेती सुरु भएको छ ।
    
सोम केराखेती कृषि फार्मका धनी चापागाईले केराको बिरुवा प्रदेश नं २ को निजगढबाट ल्याएका हुन् । रोग नलागेका अवस्थामा एकपटक रोपेको बिरुबाले १२ वर्षसम्म उत्पादन गर्न सकिने उनले बताए । नेपालमा मालभोग, विलियम हाइब्रिड, चिनियाँ चम्पा, हरिछाल, रोवस्टा र डवार्फ क्याविन्डिज जातको खेती गरिँदै आएको पाइन्छ । नेपालमा हरियो केराको तुलनामा पहेंलो केराको बढी मूल्य पाइँने हुँदा पहेंलो केरामा मालभोग केरा नै कृषकले बढी रुचाएका छन् ।

यसैगरी केरामा लाग्ने गवारो रोगबाट जोगाउनका लागि सुपर डि किटनाषक औषधि प्रयोग गर्ने गरिएको छ । रोग र किराबाट जोगाउन निकै चनाखो भएर गर्नुपर्ने यो खेतीमा लाग्नेले पछुताउनुपर्ने समस्या नरहेको कृषक चापागाईको भनाइ छ । सरकारले कृषिमा व्यवसायीकरण भनिए पनि हालसम्म सङ्घीय तथा प्रदेश सरकारबाट कुनै सहयोग नपाएको उनीहरूको गुनासो छ । उत्पादित केराको बजारको कुनै समस्या नरहेको  बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि