असोज ०६, २०८१, आइतबार
               

हलेसीमा लुङ्दर टाँग्न अब पैसा तिर्नुपर्ने

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

प्रसिद्ध त्रिधार्मिक धाम हलेसी क्षेत्रमा टाँगिने लुङ्दरलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने तयारी गरिएको छ । जथाभावी लुुङ्दर टाँग्ने कार्यलाई व्यवस्थित बनाउँदै आम्दानीको दीगो स्रोत बनाउनका लागि हलेसी तुुवाचुुङ नगरपालिकाले तयारी थालेको हो ।

मञ्जुश्री गुफा आसपासका डाँडामा यत्रतत्र टाँगिने लुङ्दारले हलेसी क्षेत्रको सौन्दर्य तथा वातावरणीयरुपमा समेत प्रभाव पार्ने भएकाले व्यवस्थापनको आवश्यक्ता रहेको नगरप्रमुख इवन राईले बताए । “मञ्जुश्री गुफा आसपास १५० रोपनी क्षेत्रफलमा फैलिएका डाँडामा हाल वर्षौंदेखिका लुङ्दर यत्रतत्र छन्”, उनले भने, “लुङ्दरलाई आकर्षित तथा व्यवस्थित गर्न लुुङ्दर टाँग्ने प्रत्येक व्यक्तिबाट निश्चित रकम लिने व्यवस्था गर्न कार्यविधि निर्माण गर्ने तयारी गरिएको छ ।”

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल मानिने त्रिधार्मिक धाम हलेसी क्षेत्रमा यसअघिसम्म लुङ्दर निःशुल्क टाँग्ने व्यवस्था थियो । एउटा डोरीमा टाँगेबापत १०० लिइने तयारी गरिएको नगरपालिकाले जनाएको छ । लुङ्दर टाँग्दा ठाउँ उपलब्ध गराएबापत शुल्क लिँदा वार्षिक दुई करोडभन्दा बढी रकम सङ्कलन गर्न सकिने जनाइएको छ । नगरपालिकाले टाँग्ने ठाउँका साथै पिलरसमेत व्यवस्था गरिदिने तयारी गरेको जनाइएको छ ।  

नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिक–७ महादेवस्थानमा तीनवटा घरबास सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । महादेवस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा ऐसेलुखर्कमा किराँत सँस्कारमा आधारित होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

तीनवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरेर होमस्टे सञ्चालनसम्बन्धी तालीम दिनुका साथै आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको हलेसी विकास समितिका अध्यक्ष टङ्क राईले बताए ।

हलेसीमा नेपालका सबै जिल्लाका साथै अन्य देश भारत, चीन, भुटान, बङ्गलादेश, जापान, अमेरिका, थाइल्याण्डलगायतबाट भक्तजन एवं दर्शनार्थी आउने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि