असोज ०६, २०८१, आइतबार
               

रसुवामा ६०० भन्दा बढीलाई परिचयपत्र

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

अपाङ्गता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्न परिचय वितरण कार्य जिल्लामा अगाडि बढेको छ ।

रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३७१ महिलासहित ६२५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय प्रदान गरिसकेको उक्त केन्द्रले जनाएको छ । पछिल्लो आँकलनअनुसार अपाङ्गता भएका व्यक्ति जिल्लामा करिब एक हजार रहेका छन् । अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन स्थानीय तहलगायत सबै निकायसँग समन्वय गरिरहेको रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष गम्भीरमान लोले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिलाई समुदायमा आधारित पुनःस्थापना गराउन प्रदेश सरकारद्वारा स्थानीय तहमा आउने अनुदानको कार्यक्रम बनाउनसमेत सहयोगी भूमिका निर्वाह गरिरहेको बताइन्छ । यस्तै जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड क्षेत्रमा प्राविधिक साझेदारी कार्यक्रमअन्तर्गत ह्याण्डिक्याप इन्टरनेशनल फेडरेसन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनका कार्य योजना बनाउने कार्य अगाडि बढिरहेको छ ।

ह्याण्डीक्यापसँगको साझेदारीमा विपद् न्यूनीकरणका लागि  पूर्वतयारीका कार्यक्रम अगाडि बढाएको, विपद्को कार्य योजना बनाउन स्थानीय तहलाई सहयोग गरिरहेको र स्थानीयस्तरमा विपद् व्यवस्थापनअन्तर्गतको खोज तथा उद्धारसम्बन्धी तालीम प्रदान गरिसकेको कार्यक्रम अधिकृत छिरिङ लामाले जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग महासङ्घको सहकार्यमा रसुवामा छरिएर रहेका अपाङ्गत भएका व्यक्तिको पहिचान र यकिन तथ्याङ्क लिने काम अगाडि बढिरहेको छ ।

अपाङ्गता भएका व्यक्तिलाई सहज वातावरण बनाउने कार्यक्रम प्रदान गर्न सबै सङ्घसंस्थाले निरन्तर सहयोग गर्नेमा आफ्नो संस्था आशावादी रहेको अपाङ्ग पुनःस्थापना केन्द्रले जनाएको छ । रासस


कस्तो लाग्यो ?

यो पनि