असोज ०६, २०८१, आइतबार
               

गुराँस उद्यान निर्माण सुरु

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ फूलबारीमा गुराँस पार्क निर्माण सुरु भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फूल गुराँसको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क निर्माण सुरु गरेको हो । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार नेसरानी सामुदायिक वन उपभोक्ता समूहसँग गुराँस पार्क निर्माण गर्न सम्झौता भएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए ।

“नेपालमा पाइने सबै प्रजातिका गुराँस एकै ठाउँमा अवलोकन गर्ने व्यवस्था मिलाएर पर्यटक आकर्षित गर्ने उद्देश्यले गुराँस पार्क बनाउन लागिएको हो”, उनले भने, “यसबाट गुराँसको संरक्षणमा पनि सहयोग पुग्छ ।” अन्नपूर्ण गाउँपालिका– ५, ६, ७ र ८ मा पर्ने बयली, घोडेपानी, फूलबारी, मोहरेडाँडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुरासँको जङ्गल छ ।

डिभिजन वन कार्यालयका प्रमुख खनालका अनुसार यस क्षेत्रमा अहिले आठ प्रजातिका गुराँस पाइन्छ । नेपालमा ३१ प्रजातिका गुराँस पाइन्छ । देशका विभिन्न ठाउँबाट सबै प्रजातिका गुरासँको बिरुवा ल्याएर फूलबारीको पार्कमा रोप्न लागिएको हो । २८ प्रजातिका गुराँस तिनजुरे क्षेत्रमा पाइन्छ ।

गुराँस पार्क निर्माण गर्न प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ मा १० लाख विनियोजन गरेको छ । बीस रोपनी क्षेत्रफलमा घेराबार गरेर गुराँसका बिरुवा रोप्नुका साथै अन्य पूर्वाधार निर्माण गर्न लागिएको नेसरानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालबहादुर गर्बुजाले बताए  ।

उनका अनुसार शौचालय, खानेपानी व्यवस्थापन र पर्यटक आश्रयस्थल बनाउन लागिएको छ । गुराँसको महत्व र प्रजातिका बारेमा जानकारी दिने सूचना केन्द्र पनि बनाउन लागिएको छ । आगामी असार महिनाभित्र पार्क निर्माण गरिसक्ने लक्ष्य रहेको अध्यक्ष गर्बुजाले बताए ।

फूलबारीको गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा र नीलगिरि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । फूलबारी अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको छ । यहाँ रातो, सेतो, गुलाबी, सुन्तलालगायत रंगका गुराँसका प्रजाति छन् ।

फागुन–चैत र वैशाख महिनामा पाखाभरी ढकमक्क फुल्ने लालीगुराँसले घोडेपानी क्षेत्रको जङ्गल आकर्षक देखिन्छ । गुरासँको जङ्गलको पृष्ठभूमिमा हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न पाउनु यस क्षेत्रको विशेषता हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गुराँसको संरक्षणसँगै पर्यटक प्रर्वद्धनका लागि गुराँस पार्क निर्माण गर्न प्रदेश सरकारलाई प्रस्ताव गरिएको बताए । घोडेपानी क्षेत्रको जङ्गलमा गुराँसका रुख काट्न प्रतिबन्ध लगाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि