बैशाख २३, २०८१, आइतबार
               

कर्णालीमा हाम फालेर एकै परिवारका पाँच जनाले गरे आत्महत्या

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

दैलेख । दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् । यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनकी तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

बेपत्ता भएकामध्ये दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको हात बाँधेको अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा शव फेला परेको थियो भने आमा सुखी बडुवाल र ८ वर्षीय छोरा ललित बडुवालको शव मंगलबार दिउँसो नदीमा फेला परेको छ ।

पाँच वर्षीया रजनी बडुवालको खोजी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिए । अहिले घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठ र सुर्खेतका प्रहरी प्रमुख डिआइजी वसन्त पन्त र गोताखोरको टोलीसमेत पुकेको छ ।

सनाखत भएका चार जनाको शव परीक्षणका लागि अछामको मङ्गलसेनतर्फ लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । घरमूली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि २३ गते साँझनै चार जना केटाकेटीसहित सुखी बडुवाल घरबाट निस्किएको स्थानीयले बताएका छन् । 

गरिब परिवार भएकाले एउटा समस्या थियो, तर मदिरा सेवनसँगै लगातार घरमूलीले तनाव दिएपछि उनीहरु नदीमा हाम फाल्नुपर्ने अवस्था आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घरमूली मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरीचौकीमा अनुसन्धान गरिरहेको छ । 

घरेलु हिंसाकै कारण नाबालकले समेत अनाहकमै ज्यान गुमाउनुपरेको विषयलाई लिएर अधिकारकर्मीले विरोध जनाएका छन् । तीनै तहका सरकारले वडा तहसम्मका नागरिकको समस्या के छ, कसरी बसेका छन्, घरेलु मदिराको बिगबिगी कस्तो छ  भन्नेबारेमा समस्यामा परेका महिला र बालबालिकाको अवस्था तत्काल चित्रण गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण तयार गर्न आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि