बैशाख १२, २०८१, बुधबार
               

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा झाँकीसहित शोभायात्रा

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ ।

पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गरे । कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्यसचिव डा प्रदीप ढकाल, परिषद् सञ्चालक सदस्यद्वय देवीप्रसाद बराल र आशा पाण्डे, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।

मन्दिर परिसरबाट आरम्भ भएको शोभायात्रा पिङ्गलास्थान, गौशाला जयवागेश्वरी, सिफल, लामपोखरी हुँदै चावहिल गणेशस्थानसम्म पुगेको थियो । पुनः त्यही मार्गबाट फर्किई जयवागेश्वरीबाट मूल मन्दिरअघि पुगेर यात्रा समापन गरिएको थियो ।

 समापनका अवसरमा कार्यकारी निर्देशक खतिवडाले आज बेलुकी पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन र बुधबार बिहान महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिने जानकारी दिए । महाशिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न आउने भक्तजनलाई मास्कसहित सुरक्षा मापदण्ड पूरा गर्न पनि उनले आह्वान गरे ।

महाशिवरात्रिका विषयमा थप जानकारी दिन कोषले आज दिउँसो पत्रकार सम्मेलनको समेत आयोजना गरेको जनाइएको छ । शोभायात्रामा मारवाडी सेवा समिति नेपालले पानी एवं सर्वतको व्यवस्था गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि