बैशाख १४, २०८१, शुक्रबार
               

यातायात कार्यालय ठुलो भर्‍याङको सेवामा छलाङ, अब न भीड न सास्ती
कार्यालय प्रमुख सञ्जय थापाले यसरी सुधारे सेवा प्रवाह

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

अक्सर नापी, मालपोत, यातायात कार्यालय मानिसको भीडभाड भइरहने सरकारी कार्यालय हुन् । सेवाग्राहीको बढी चहलपहल भइरहने भएकाले यस्ता कार्यालयमा बिचौलियाको बिगबिगी हुन्छ । कार्यालयको गेटअगाडि नै सेवाग्राही समातिन्छन्, ‘के गर्नुपर्ने हो ? हामीलाई भन्नोस्, काम फटाफट हुन्छ, लाइन बस्नुपर्दैन ।’ 

चाहे त्यो फर्म भरिदिने बहानामा होस् वा लाइन बस्न नपर्ने प्रलोभनमा, सजिलो काममा समेत सेवाग्राहीले बिचौलियालाई पैसा बुझाइरहेका हुन्छन् । 

यस्तो थाहा पाएर पनि कतिपय कार्यालयका प्रमुख, कर्मचारी अनजानजस्तै बन्ने गरेका छन् । हुन त उनीहरूले गरुन् पनि के, सेवाग्राही कार्यालयको गेटभित्र नपस्दै बिचौलियाकहाँ फसिसकेका हुन्छन् !

तर, कार्यालय प्रमुख र कर्मचारीले चाहने हो भने गेटबाहिरै सेवाग्राही ठगिनुपर्ने अवस्थाको अन्त्य गर्न सकिने उदाहरण यातायात कार्यालय, सवारीचालक अनुमतिपत्र ठुलो भर्‍याङले दिएको छ । कार्यालय प्रमुख सञ्जय थापाले सेवाग्राहीका लागि ‘वर्कफ्लो चार्ट’ बनाएका छन्, जसबाट सेवाग्राहीले सजिलै आफ्नो काम बनाउन सक्छन् ।

जस्तो कुनै सेवाग्राही लाइसेन्स नवीकरण गर्न कार्यालयमा पुग्यो । यसका लागि कोठा नम्बर कतिमा जाने ? सबैलाई थाहा नहुन सक्छ । अनलाइन फर्म ल्याएर कहाँ बुझाउने ? यसबारे पनि पहिलोपटक आउने सेवाग्राही अनभीज्ञ हुन्छन् । 

सेवाग्राहीले कार्यालयको गेटबाट भित्र छिर्नेबित्तिकै वर्कफ्लो चार्ट हेरेर आफू जाने कोठाबारे थाहा पाउन सक्छन् । फर्म बुझाउने, नवीकरण गर्ने, राजस्व तिर्नेलगायत सबै काम र सम्बन्धित कोठाबारे त्यहाँ प्रस्ट रूपमा लेखिएको छ । 

कार्यालय प्रमुख थापाले फेसबुक पेज बनाएरै सेवाग्राहीलाई यसबारे जानकारी दिने गरेका छन् । ताकि, सेवाग्राही आफ्नो घरबाटै काम र सम्बन्धित कोठाबारे जानकारीसहित कार्यालय आऊन् । 

‘सेवाग्राही नठगिऊन् भनेर मैले आफ्नो कामको सुरुवात नै वर्कफ्लो चार्ट बनाएर गरेँ,’ कार्यालय प्रमुख थापाले भने, ‘त्यसपछि कर्मचारी साथीहरूसँग समन्वय बढाएको छु, उहाँहरूका समस्या, गुनासो सम्बोधनको प्रयासमा छु । किनकि, एक समस्यारहित र स्फूर्त कर्मचारीले नै सेवाग्राहीसँग राम्रो व्यवहार गर्न सक्छ, चुस्त सेवा प्रवाह गर्न सक्छ ।’ 

सेवाग्राही पनि कार्यालयको चार्ट हेरेर आफूलाई काम गर्न सजिलो भएको बताउँछन् । अलमल नहुने भएपछि आफैँले काम गरेको उनीहरूले बताए । 

यातायात कार्यालय ठुलो भर्‍याङले सुरु गरेको वर्कफ्लो चार्टबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत छलफल भएको थियो । छलफलपछि मन्त्रालयले यस्तै चार्ट बनाएर सेवाग्राहीलाई सहजीकरण गर्न अन्य कार्यालयलाई पनि निर्देशन दिइसकेको छ । 

सफ्टवेरको प्रयोगले लाम बस्न अन्त्य

कार्यालयले वर्कफ्लो चाट मात्र बनाएको छैन लाइसेन्स वितरणका लागि एउटा सफ्टवेरसमेत विकास गरेको छ। जसबाट सेवाग्राहीले घन्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सफ्टवेरको सहयोगमा कार्यालयले हाल एक दिनमै एक हजार लाइसेन्स वितरण गर्न सक्छ ।

जबकि, यसअघि तीन/चार सय लाइसेन्स वितरण गर्न एक दिन  नै खर्चनुपर्थोँ । कार्यालयका कम्प्युटर अधिकृत वासुदेव रेग्मीले उक्त सफ्टवेयर बनाएका हुन् । 

प्रभावकारी देखिएपछि उपत्यकाका सबै यातायात कार्यालयमा यही सफ्टवेर राखेर काम हुन थालेको छ । मन्त्रालयले देशभरका यातायात कार्यालयमा यो सफ्टवेर राख्ने योजना बनाएको छ ।

‘हामीलाई मन्त्रालयबाट पत्र आइसकेको छ । अब वासुदेव सरले बनाएको सफ्टवेर देशभरका यातायात कार्यालयमा राखिनेछ,’ कार्यालय प्रमुख थापाले भने । 

त्यसो त, कार्यालय प्रमुख थापाले कुन कोठामा को छिर्छ, किन छिर्छ, के भइरहेको छ भनेर आफ्नै कोठाबाट सूक्ष्म रूपमा नियाल्ने गरेका छन् । आफ्नो कार्यकक्षमा बसेर उनले ठुलो एलइडीमार्फत् निगरानी गरिरहेका हुन्छन् । ‘हिजो के भयो मैले त्यता ध्यान दिइनँ । अब के हुन्छ र हुनुपर्छ मेरो ध्यान त्यता हुन्छ । त्यसैले म आफ्नो ड्युटी गरिरहेको छु,’ उनले भने, ‘राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गरिन्छ, छलछाम गर्नेले कर्मअनुसारको परिणाम भोग्नुपर्छ ।’

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स लिनेहरूको चाप अत्यधिक बढेपछि सेवा प्रवाह सुस्त र झन्झटपूर्ण भयो । त्यसपछि २०७३ सालमा भक्तपुरको जगाती, काठमाडौंको सुकेधारा र ठुलो भर्‍याङ गरी तीन ठाउँमा थप कार्यालय स्थापना गरिएको थियो ।

को हुन् कार्यालय प्रमुख सञ्जय थापा ?

२०७४ सालमा नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थापा आफैँ पनि सिर्जनात्मक क्षमता भएका कर्मचारीमा गनिन्छन् । अङ्ग्रेजी साहित्यमा डिग्री गरेका उनले हालै मात्र एलएलबी पनि गरेका छन् । 

उनले गत ५ पुसबाट यातायात कार्यालय ठुलो भर्‍याङमा प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

‘सेवा प्रवाहलाई चुस्त बनाउन मसित केही प्रभावकारी योजना छन्, आगामी दिनमा ती लागू गरेर अघि बढ्नेछु,’ उनले भने, ‘मलाई एउटा इमान्दार, कर्तव्यनिष्ठ र उत्तरदायी कर्मचारी बनेर जनताको सेवा गर्नुछ, रिटायर भएपछि मैले गरेका कामबाट मैले शान्ति पाउन सकूँ ।’

उनी विगतको तुलनामा यातायात क्षेत्रमा धेरै सुधार भएको मान्छन् । ‘यहाँ यातायात क्षेत्रलाई सधैंं एउटै चस्माले हेरिन्छ । हिजोभन्दा आज निकै सुधार भएको छ ।’ यद्यपि, यो नै पर्याप्त नरहेको उनको भनाइ छ । 

‘केही बेथितिको अन्त्य भएको छ । तर, गेटैबाहिर सेवाग्राही ठगिनुपर्नेलगायत केही समस्या अझै बाँकी छन् । यसको हल गर्न कार्यालय, विभाग, तालुकदार निकाय र मन्त्रालयले चनाखो भएर काम गर्नुपर्छ’, उनले भने ।


कस्तो लाग्यो ?

यो पनि