५२ थान चोरीका मोबाइल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर प्रयागपोखरी बस्ने भारत बिहार ठेगाना भएका ३२ वर्षीय जहिर अन्सारी, काठमाडौं कपन बस्ने काठमाडौं महानगरपालिका-६ बौद्ध ठेगाना भएका २७ वर्षीय दिपेश श्रेष्ठ, काठमाडौं कपन बस्ने चितवन भरतपुर महानगरपालिका-११ घर भएका २९ वर्षीय अमित राना मगर र काठमाडौं महानगरपालिका-३० असन बस्ने ३३ वर्षीय बिक्रम शाही छन् ।
कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले ललितपुर सानेपास्थित एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको लागि पठाउन लागेको एमआई कम्पनीको रेड्मी नोट ९ मोबाईल सेटहरू फागुन २ गते दिउँसो डल्लुबाट कालीमाटी हुँदै काठमाडौं परोपकार जाने क्रममा परोपकारस्थित सडकमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिहरुले कार्टुन भित्र रहेको उक्त मोबाईल सेटहरु चोरी गरेका थिए ।
उक्त मोबाइलहरू काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी अमितले ललितपुर प्रयागपोखरीस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने जहिर अन्सारीलाई भेटाई ५ लाख ५० हजार रुपैयाँ नगदमा बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त जनसेवाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।