विभिन्न स्थानबाट चोरी भएका २७ थान मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेला पारी सम्बन्धित धनिलाई बुझाइएको छ । उक्त महाशाखामा बिहीबार आयोजित कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले उक्त मोटरसाइकल सम्बन्धित धनिलाई बुझाएका हुन् ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको प्रहरीले उपत्यका, उपत्यकाका आसपास, नुवाकोट, धादिङ र मकवानपुरका विभिन्न स्थानहरूबाट चोरी भएका ती मोटरसाइकल विशेष सूचना संकलनमार्फत चेकिङ टोली परिचालन गरी बरामद गरेको हो ।
महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका २७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाई सकेको छ भने चोरीमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कारवाही समेत गरिएको उक्त महाशाखाले जनाएको छ ।