असोज ०५, २०८१, शनिबार
               

गोठ भत्काइए पनि छाउप्रथा कायमै

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

गतवर्ष पुष महिनाबाट सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थालेपछि अहिलेसम्म ९,२१० वटा छाउगोठहरू भत्काइएको गृह मन्त्रालयले जनाएको छ ।

महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो । अभियानलाई साथ दिँदै महिलाहरू स्वयं सहभागी भएर आफूहरू बस्दै आएका छाउगोठहरू भत्काएका थिए ।

पुनः छाउगोठमै

स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिए तापनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेको बताउँछन् ।

घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन नसकेको उनीहरूको गुनासो पाइन्छ । पुनः छाउगोठमै बस्न थालेकी पश्चिम सुर्खेतकी एकजना महिला भन्छिन्, "घरभित्रै बस्ने मन भएपनि देउता रिसाउने भन्दै बूढाबूढी (सासु-ससुरा)ले बस्नै दिँदैनन् । त्यसैले महिनावारी हुँदा पाँचदिन बाध्य भएर छाउगोठमै बस्ने गर्छु ।"

उनले घरभित्र बस्न नपाउँदा धेरै पीडा हुने गरेको पनि बताइन् । प्रहरी-प्रशासनको डरले नयाँ छाउगोठ बनाउन भने छाडेका छन् ।

तर अहिले गाउँका धेरै महिला दिदीबहिनी गाईभैँसीको गोठ, बाख्राखोर, स्नानघर र ओडारमा बस्ने गरेको समेत ती महिला बताउँछिन् ।

'तोड्न र छोड्न सकिएन'

कर्णाली र सुदुरपश्चिममा देउता रिसाउँछन् भन्ने अन्धविश्वासले गर्दा महिलाहरू महिनावारी हुँदा घरबाहिर (छाउगोठ) बस्न बाध्य हुँदै आएको बताइने गरेको छ ।

पञ्चपुरी नगरपालिका डाबकी रत्न विकले देउता रिसाउने र घरमा अनिष्ट हुने अन्धविश्वासले गर्दा आफूहरूले बर्षौँदेखि हैरानी खेप्नु परेको बताउँछिन् ।

उनी भन्छिन्, "छाउबार्न मन छैन् तर देवी-देवताको डरले कुसंस्कारलाई तोड्न र छोड्न सकिएको छैन ।"

छाउगोठको रूप मात्रै फेरिएको तर संस्कार र सोच जहाँको त्यहीँ रहेको धेरैको अनुभव छ ।

मनोवैज्ञानिक भय

देउता रिसाउने भएकै कारण महिनावारी भएका महिलाहरु स्वयंसमेत पानी पधेँरा प्रयोग गर्न, फलफूलका बोटविरुवा छुन र दूध दही खानबाट पनि वञ्चित हुन्छन् । महिनावारी भएका महिलाले भुलबस फलफूलका बोटबिरुवा छोइहाले सुनपानी छर्केर शुद्ध गर्ने गरिएको गाउँलेहरूको अनुभव छ ।

गृह मन्त्रालयको तथ्याङ्कमा ९,२१० मध्ये ६,१४६ वटा छाउगोठ सुदुरपश्चिमको अछाम जिल्लामा मात्र भत्काइएको थियो । तर गतवर्ष सम्पूर्ण छाउगोठहरू भत्काइए पनि अहिले झण्डै २० प्रतिशत छाउगोठहरू फेरि बनाइएको अछामको कमलबजार नगरपालिकाकी उपप्रमुख भूमिशरण ढकाल बजगाईले बताइन् ।

उनी भन्छिन्, "घरबाहिर नबसे आफैलाई नै देवी-देउता लाग्ने हो कि भन्ने मनोवैज्ञानिक भयले गर्दा महिनावारी हुँदा महिलाहरू छाउगोठमा बस्न बाध्य छन् ।"

'न देउता रिसाए, न अनिष्ट भयो'

महिनावारी हुँदा घरभित्रै छुट्टै कोठमा बस्दै आएका महिलाहरू भने छाउगोठमा नबस्न र अन्धविश्वास तोडेर अघि बढन सुझाव दिन्छन् ।

महिनावारी हुँदा घरमै बस्ने गरेकी बिश्ना विष्टले सुनाइन्, "घरभित्रै बस्दा मलाई केही पनि समस्या भाको छैन, अहिलेसम्म न देउता नै रिसाएका छन्, न कुनै अनिष्ट नै भएको छ ।"

विगतमा छाउगोठ न्यानो राख्न बालिएको आगोले निस्सासिएर, पहिरो खसेर, अत्यधिक जाडो, सर्पको टोकाइजस्ता कारणले महिनावारी हुँदा घरबाहिर बसेका कतिपय महिला र किशोरीले ज्यान गुमाएका घटना छन् ।

महिनावारी भएको समयमा घरबाहिर एक्लै बस्नु पर्दा असुरक्षा समेत महसुस हुने गरेको महिलाहरू बताउँछन् । उनीहरूमध्ये कतिपय बलात्कृत पनि भएको घटना छ ।

छाउगोठ भत्काउने अभियानपछि भने महिनावारीको समयमा छाउगोठमा बस्दा कुनैपनि महिलाको मृत्यु नभएको गृह मन्त्रालयले जनाएको छ ।

छाउगोठ भत्काएपनि परिवर्तन नभएपछि अब कसरी अघि बढ्ने भनेर रणनीति बनाउन लागिएको जनप्रतिनिधिहरू बताउँछन् ।

बराहताल गाउँपालिका सुर्खेतका अध्यक्ष तेजबहादुर बस्नेत भन्छन्, "छाउगोठहरू भत्काएपछि कतिपय घरको दैलोभित्र बस्न थालेका छन्, बाँकीलाई पनि घरभित्र बसाल्नको लागि विभिन्न विकल्प छन् । तीमध्ये कुनै विकल्प अघि सार्छौँ ।"

महिनावारी हुँदा घरबाहिर र छाउगोठमा बस्नेहरूलाई सरकारी सेवा सुविधा रोक्नेदेखि धामीलाई आश्वस्त गर्ने विकल्पहरू आफूसँग रहेको स्थानीय सरकारका अधिकारीहरूले बताएकाे बिबिसीले लेखेकाे छ । 

महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउगोठमा राख्न, कुनै किसिमको भेदभाव, छुवाछुत, अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि