असोज ०५, २०८१, शनिबार
               

मानवसेवा आश्रमलाई चार करोडको जग्गा

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

सहयोगापेक्षी मानवका लागि बसोबासको उचित व्यवस्थापनका लागि भवन निर्माणको पहल थालिएको छ । भवन निर्माणका लागि आज विराटनगरको एक परिवारले चार करोड मूल्य बराबरको जग्गा प्रदान गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रिय योगदानमा विराटनगर–५ का उदार हृदयका खड्का परिवारले चार करोड मूल्य बराबरको छ कठ्ठ जग्गा प्रदान गरेको हो । डम्बर सत्सङ्ग सदगुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशिला भट्टराईले मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई विराटनगर–५ स्थित छ कठ्ठा जग्गाको कागजपत्र हस्तान्तरण गरिन् । 

डम्बरबहादुर खड्काले आफ्नो मृत्युपछि मानवसेवाको हितमा काम गर्न भनेअनुसार खड्का परिवारका सदस्यले कविर आश्रमको नाममा रहेको १३ मध्ये छ कठ्ठ जग्गा प्रदान गरेका हुन् । महानगरपालिकाका प्रमुख पराजुलीले मानवसेवा प्रवर्द्धन गरेकामा दाता परिवारले पुण्यको काम गरेको चर्चा गर्दै छोरोछोरीले वृद्ध आमावुवालाई ज्येष्ठ नागरिक गृहमा पठाउने कार्य बन्द गर्न आग्रह गरे । उनले भविष्यमा सेवा आश्रम के हो भन्ने अनुन्धान गर्न विश्वभरका नागरिक नेपाल आउने चर्चा गर्दै आश्रमको विराटनगरमा भएको तीन भवनको वहाल महानगरले भुक्तानी गरिरहेको बताए ।

प्रमुख पराजुलीले प्राप्त जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक भवन निर्माण गर्न चाँडै विराटनगरमा नेपालका प्रसिद्ध कलाकारको उपस्थितिमा बृहत साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने जानकारी दिए । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवीय कार्यको लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गरेको बताउँदै आश्रमले सुरु गर्न लागेको ज्येष्ठ नागरिक मनोमञ्जनका लागि महानगरको सहयोगका लागि आग्रह गरे ।

दाता संस्थाकी अध्यक्ष भट्टराई र स्व खडका बुहारी जमूना खड्का, गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाईलगायतले दुःख र पीडामा सहयोग गर्न पाउँदा खुशी लागेको चर्चा गर्दै आगामी दिनमा थप सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कविर आश्रमको बाँकी रहेको सात कठ्ठा जग्गामा मानवसेवा आश्रमले वाटिका लगाउने सोही अवसरमा जानकारी दिइयो । सोही अवसरमा दाता खडका परिवारका सदस्य एवं कवि आश्रमका पदाधिकारीलाई सम्मान गरिएको थियो । आश्रमको प्रदेश–१ कार्यालय विराटनगरमा तीन स्थानमा बहाल लिएको भवनमा २४६ जना सहयोगापेक्षी बस्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि