असोज ०६, २०८१, आइतबार
               

बागलुङको तीन वटा वनमा भीषण आगलागी

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

बलेवा । बागलुङको गलकोटका तीन वटा सामुदायिक वनमा आगलागी भएको छ । सोमबार दिउँसोदेखि तीनवटै सामुदायिक वनमा आगलागी भएको हो । आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन् । 

गलकोट नगरपालिका–५ र ७ का तीन सामुदायिक वनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताए । भैंसे दान्सिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि सुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको छ ।

आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले जानकारी दिए । दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि अहिले आगो नियन्त्रणबाहिर रहेको उनले बताए । 

सोही आगो छिमेकी वडा नं ७ को ठूलाचौर  सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त सामुदायिक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष थुमकुमारी थापाले जानकारी दिइन् । 

आगोको कारण दानसिंङ सामुदायिक वनसँगै जोडिएको गगनपानी सामुदायिक वन गलकोट नगरपालिका–५ को झण्डै पाँच हेक्टर क्षेत्रफल वन क्षेत्रमा पनि क्षति भएको बताइएको छ ।

ठूलाचौर महिला सामुदायिक वन, दानसिङडाँडा सामुदायिक वन सिमाना जोडिएका वन हुन् । आगो अहिले पनि जङ्गलमा फैलिरहेको छ । आगो बस्तीतिर आउने खतरा रहेको भन्दै स्थानीयवासी चिन्तित भएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिए ।

आगो निभाउन स्थानीयवासी र प्रहरीको सक्रियता रहेको वडाध्यक्ष थापाले बताए । वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन् ।

साँझ परिसकेको र भीरमा आगलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिए । आगलागी हुँदा करोडौँको क्षति भएको छ । 


कस्तो लाग्यो ?

यो पनि