कात्तिक २८, २०८१, बुधबार
               

वकिलको कार्यालय भवनको उद्घाटन

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

मोरङ । विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गरे ।

तीन कठ्ठा क्षेत्रफलमा तीन करोड १४ लाख ८२ हजार ४२५ रुपैयाँको लागतमा निर्मित तीन तले भवनमा २३ वटा सुविधासम्पन्न कोठा रहेका छन् ।

भवन अपाङ्गता मैत्री, पीडित मैत्री कक्ष, पुस्ताकलय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको रहेको जिल्ला न्यायाधिवक्ता मनोजकुमार आर्चायले जानकारी दिए । 

महान्यायाधिवक्ता खरेलले तीन वर्षमा देशभरिमा ३९ वटा सरकारी वकिलको कार्यालयको भवन निर्माण भएको जानकारी दिँदै अपराधमुक्त समाज र न्याय सम्पादनमा राज्यले ठूलो लगानी गरेको बताए ।

मोरङ अदालतका मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, न्यायाधीश शिशिरराज ढकाल, किशोर घिमिरेलगायतले नवनिर्मित भवनबाट कार्य सम्पादनमा सहजता पुग्ने विचार व्यक्त गरे । 


कस्तो लाग्यो ?

यो पनि