जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

फुङ्लिङ । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् ।

फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य सुरु गर्ने कार्ययोजना तयार भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए । विवरण संकलन कार्य प्रत्येक वडामा गरिने छ ।  

विभागका अनुसार वडाभित्रको जनसङ्ख्याको आकार अनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण संकलन स्टेशन तोकिने भएको छ । एउटा स्टेशनबाट दैनिक न्यूनतम ४० सम्मको विवरण संकलन गर्ने विभागको तयारी रहेको निर्देशक उपाध्यायले बताए ।

वडास्तरमा दर्ता अभियान सञ्चालन, रुजु र राष्ट्रिय परिचय नम्बर जारी र केन्द्रीय प्रणालीमा डाटा अपलोड अबका कार्य हुनेसमेत विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार ताप्लेजुङ सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतसँग विवरण संकलन कार्यमा सहयोगसमेत माग गरेको छ । 

कार्यक्रममा सबै स्थानीय तहका प्रमुखले राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यमा स्थानीय तहबाट सक्दो सहयोग पुग्ने विश्वास दिलाए । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले राष्ट्रिय महत्वको महान पर्वझैँ भएकाले यो अभियान सफल बनाउनु स्थानीय तहको प्रमुख उपलब्धि हुने बताए ।

परिचयपत्रको विवरण संकलनका लागि सरकारले अर्को कार्यक्रम र बजेट खर्च नगर्ने स्पष्ट पार्दै यही एउटै मौकामा आफ्नो विवरण भर्न सबैलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले आग्रह गरे ।

संकलन गरिएका नागरिकका विवरण निर्वाचन प्रयोजनका लागि र मतदाता नामावली र परिचयपत्रलाई मतदाता परिचयपत्रको रुपमा प्रयोग गर्न सकिने बनाउने तयारी भइरहेको महानिर्देशक बस्नेतले बताए । 


कस्तो लाग्यो ?

यो पनि