असोज ०५, २०८१, शनिबार
               

कुकुरले देखाएको त्यो क्लु– जसले भागरथी हत्यारा पत्ता लगायो

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा धमिलिएको नेपाल प्रहरीको साख अनुसन्धान तालिमप्राप्त कुकुरका कारण जोगिएको छ।

बैतडीकी १७ वर्षीया भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धान कञ्चनपुरकी किशोरी निर्मलाको जस्तो बन्ने खतरा थियो । हत्या भएको दुई हप्ता बिते पनि आरोपी पक्राउ नपरेपछि ‘निर्मला घटना’ दोहोरिनसक्ने अनुमान गरिएको थियो । सोही कारण पछिल्लो समय प्रहरी दबाबमा थियो । १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । सोही कुकुरले नै दिएको क्लुबाट भागरथी भट्टको हत्या अभियोग लागेका व्यक्ति पक्राउ परेका छन् । बलात्कारपछि हत्या भएको बुधबार १५ दिन पुग्यो । घटनाको १५ औँ दिन एकजना पक्राउ परे । अनुसन्धानपछि प्रहरीले कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले हत्या स्वीकार गरेका छन् ।

बदला लिनका लागि भीरबाट लडाएर हत्या गरेको उनले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । आरोपित दिनेश पनि भागरथी नै अध्ययनरत स्थानीय सनातन धर्म माविमा पढ्छन् । 

घटनास्थलको प्रकृति, घटनाको भोलिपल्ट परेको पानी र अपराधीले गरेको केही चलाखीका कारण घटना झन्झन् पेचिलो बन्दै आएको थियो । निक्कै रहस्यमय घटना प्रहरीले अत्यन्तै चलाखीपूर्ण ढंगबाट गरेको अनुसन्धानबाट पर्दाफास भएको छ ।

प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले घटनास्थलदेखि अपराधी गएको बाटोबारे केही महत्त्वपूर्ण संकेत र सुराक दिएको थियो । सोही सुराकबाट प्रहरी हत्या गरेको स्वीकारेका अभियुक्तसमक्ष पुग्न सफल भयो । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर लगिएको थियो । कुकुरले अपराधी गएको बाटो देखाए पनि उसको घरसम्म पुग्न सकेन । यद्यपि प्रहरीलाई भने कुकुरले देखाइदिएको बाटोले केही संकेत गर्न भने मद्दत गर्‍यो । 

घटना भएको स्थान अर्थात् स्थानीय लवलेक जंगलको कच्ची सडकबाट कुकुरले बाटो देखायो । सडकबाट आरोलो बाटो हुँदै कुकुर केही समय घटनास्थल वरिपरि घुमिरह्यो । भागरथीको शव भेटिएको स्थानमा केही समय रुमलिएको कुकुर त्यसपछि विस्तारै जंगलको बाटो पूर्वतर्फ अगाडि बढ्यो । कुकरले जुन बाटो पछ्याएको थियो, त्यो बाटोमा मानिस हिँडेको पदचाप देख्न सकिन्थ्यो । ती बाटोमा ससाना बुट्यान कुल्चिएका थिए ।

करिब आठ सय मिटर जंगलको बाटो पछ्याएपछि तालिमप्राप्त कुकुर कच्ची सडकमा आइपुग्यो । त्यो कच्ची सडक अर्थात् कुकुर आइपुगेको स्थान घटनास्थलबाट पूर्वतर्फ अर्थात् खोचलेक बजारतर्फ पर्छ । तर, कुकुरले त्यसपछि कुनै संकेत गर्न सकेन । यसको मतलब अपराधी त्यही बाटो भएर कच्ची सडकसम्म आएको कुकुरले संकेत गर्‍यो । त्यसपछि त्यो अपराधी कुन बाटो भएर केमा कसरी गर्‍यो त्यो संकेत कुकुरले गर्न सकेन, पाएन ।

अहिले पक्राउ परेका किशोरको घर त्यहीँबाट जाने हो । पछि रहस्य खुल्यो । भागरथीको हत्यापश्चात् अभियुक्त सोही बाटो हुँदै घर गएका थिए । त्यहाँबाट २० मिनेट  टाढा उनको घर पर्छ । 

आफ्नो घरबाट करिब एक घण्टाको पैदल दूरीमा पर्ने स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । विद्यालयबाट घर फर्किँदा पाँच मिनेटको पैदल दूरीमा खोचलेक बजार पर्छ । गाउँपालिकाको केन्द्र पनि खोचलेक बजारमै छ । बजारबाट केही उकालो जंगलको बाटो हिँडेपछि माथि डाँडामा पुगिन्छ र केही वर्षअघि मात्रै खनिएको हल्का उकालो कच्ची सडक पार गर्दै भागरथीको घर पुगिन्छ । सोही ठाउँ नपुग्दै अर्को बाटोबाट अभियुक्त दिनेशको घर छ । दुई घरबीचको दूरी २० मिनेटको अन्तर छ ।

भागरथीको घर जाने बाटोमै लवलेक जंगल छ । जुन स्थानमा भागरथीको शव माघ २२ गते साँझ फेला परेको थियो । अपराध हुनुभन्दा अगाडिको घटनाक्रमलाई हेर्ने हो भने भागरथी उक्त दिन पौने दुई बजे पढाइ सकेर विद्यालयबाट घरतर्फ फर्किएकी छिन् ।

बाटोमा पर्ने खोचलेक बजारसम्म सहपाठी तथा गाउँकै भाइ भानदेव भट्टसँगै उनी गएकी थिइन् । तर, भानदेवले स्थानीय सैलुनमा कपाल काट्ने भन्दै गए । भानदेव भट्टसँगै रहेका दिनेश कपाल नकाटी भागरथीको पिछा लाग्दै गएका थिए ।

उनले पहिलेदेखि नै भागरथीको बलात्कार र हत्याको योजना बनाएको अनुसन्धानमा खटिएका अधिकृत बताउँछन् । भागरथी हत्यामा उनी एक्लैको संलग्नता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंह बताउँछन् । ‘भागरथी हत्यामा संलग्न व्यक्ति उनी एक्लै हुन् भन्ने हाम्रो अनुसन्धानले निर्क्योल गरिसकेको छ,’ सिंहले भने, ‘पक्राउ परेका व्यक्ति बलिष्ठ छन्, उनले आफू एक्लैले घटना गराएको स्वीकार गरेका छन् ।’

प्रारम्भिक अनुसन्धानका आधारमा दिनेशले बलात्कारपछि मार्ने नै मनसाय बनाएको देखिन्छ । उनले घाँटी थिचेर हत्या गरेको बताएका छन् । भागरथीको पोस्टमार्टम रिपोर्टमा पनि बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि