विराटनगर । मोरङमा परीक्षा दिन गएकी एक किशोरी सम्पर्कविहीन भएकी छिन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका–४ कि १५ वर्षीया सविना दर्जी एक सातायता सम्पर्कविहीन भएकी हुन् ।
कक्षा १० मा अध्ययनरत सविना माघ २५ गते परीक्षा दिन घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी घर फर्किएकी छैनन् ।
स्थानीय साजिलाल माध्यमिक विद्यालयमा अध्ययनरत सविना विहान करिब साढे १० बजे परीक्षा दिन घरबाट निस्किएकी थिइन् ।
सविनाले मोबाइल पनि नबोक्ने र सामाजिक सञ्जाल पनि नचलाउने बुबा सुबास दर्जीले बताए ।
विद्यालयमा साथी र आफन्तसँग सोधीखोजी गर्दा सविना कतै नभेटिएको सुबासले बताए ।
उनका अनुसार सविना (छोरी) परीक्षा दिन विद्यालय प्रवेश गरेलगतै निस्किएको सीसी क्यामेरामा फुटेजमा देखिएको छ । तर त्यसपछि उनी कतै फेला परेकी छैनन् ।
छोरी हराएको भोलिपल्ट सुबासले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएका थिए ।
सुबासका चार जना छोरी र एक छोरा छन् । सविना (बेपत्ता भएकी छोरी) कान्छी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले किशोरीको खोजी भइरहेको जानकारी दिए ।
किशोरीले मोबाइल र सामाजिक सञ्जाल प्रयोग नगर्ने भएका कारण खोजी गर्न कठिनाइ भएको प्रहरीको भनाइ छ ।