असोज ०५, २०८१, शनिबार
               

विद्यालयमा सुन्दै सिकाउँदै

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

ताप्लेजुङ । शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको संस्था रिड नेपालले ताप्लेजुङका दश  माध्यमिक विद्यालयमा (क्विक इम्प्याक्ट परियोजना) सुरु गरेको छ ।

(जाइका) नेपालको आर्थिक सहयोगमा बालबालिकाको क्षमता अभिवृद्धि गराई आत्म निर्णयको अधिकारलाई अभिप्रेरित गराउने उद्देश्यले उक्त परियोजना कार्यान्वयनमा ल्याईएको रिड नेपाल ताप्लेजुङ प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिए । 

उक्त परियोजना सिरिजङ्घा गाउँपालिकाअन्तर्गतका सिनाम, राष्ट्रिय, गणेश, कञ्चनजङ्घा, लक्ष्मी र फक्ताङलुङ गाउँपालिकाका सेवालुङ, सुनदेवी, सरस्वती, पार्वती, सरस्वती च्यारिबुक माध्ययमिक विद्यालयमा सुरु भएको पन्तले बताए । 

हरेक विद्यालयमा नौ छात्रा र एक छात्र गरी १० को नेतृत्व तथा मूल्यांकन कर्ता समूह बनाइएको छ । उक्त समूहलाई सीप सिक्ने र सहपाठीलाई सिकाउने कामको मुख्य भूमिकामा राखिएको छ ।

समूहका हरेक सदस्यलाई परियोजनाअन्तर्गत स्थानीय रेडियोबाट प्रसारण हुने कार्यक्रम हाम्रो विद्यालय रेडियो, हाम्रो भविष्य नामको कार्यक्रम सुनेर सिकाइ हासिल गर्न एक–एक वटा रेडियो वितरण गरिएको छ ।

उनीहरुले उक्त कार्यक्रमबाट आत्म सम्मानका कुरा, विभेदका कुरा बुझ्ने र सहपाठीबीच छलफल तथा आदानप्रदान गर्ने गर्छन् । रेडियो कार्यक्रमबाट विभिन्न प्रकारका भेदभाव, घरेलु हिंसा, यौनजन्य अपराध कसरी हुन्छ र तिनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ साथै कसरी बच्न सकिन्छ भन्नेजस्ता कुरा सिकाइने गरिएको छ । 

यसरी विद्यालयमा बनाइएको समूहले हिंसामा परेका बालबालिकाको समस्या बुझ्ने र समाधान गर्ने काम गर्ने गरेको बताइएको छ । समूहले नै समाधान गर्न नसकेमा सम्बन्धित निकायमा पुग्न र न्याय दिलाउनसमेत समूहले भूमिका खेल्ने प्रबन्धक पन्तको भनाइ छ ।

यो परियोजनाले जीवन उपयोगी सीपको विकास, सञ्चारका सीप, अरुसँग गरिने व्यवहार साथै नेतृत्व क्षमतासमेत बढाउने भएकाले निक्कै प्रभावकारी देखिएको परियोजना कार्यान्वयन भएका विद्यालयले जनाएका छन् । 

समाजमा रहेका कुरीति, कुसंस्कार, आफूमाथि हुने अन्यायका विरुद्धमा स्वयम सचेत भएर लड्ने क्षमताको विकासका लागि कार्यक्रमले सहयोग पुग्ने रिड नेपालको विश्वास छ ।

विद्यालयमा बनेका समूहले गर्न नसकेको काममा फोकल पर्सनका रुपमा छनोट भएका शिक्षक तथा शिक्षिकाले सहयोग गर्ने गरेको जनाइएको छ । परियोजना ताप्लेजुङसहित ओखलढुङ्गा, खोटाङ, बझाङ, रुपन्देही र सिन्धुलीमा सञ्चालन भइरहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि