काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि उच्च पहाडी क्षेत्रमा चिसो बढ्नुका साथै हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको समेत हुने सम्भावना रहेको छ ।
त्यसैगरी देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको बताइएको छ । त्यस्तै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरु तथा प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।