काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि चिसो कायम रहनुका साथै केही पहाडी जिल्लाहरुमा हिमपातको समेत सम्भावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली भइ अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ ।
राति देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपाको सम्भावना छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।