बैशाख २५, २०८१, मंगलबार
               

५ महिनायता मजदुरले पाएनन् ज्याला

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

गलकोट । पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् ।

गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत् आयोजनाको नहर र विद्युतगृहमा ठूलो क्षति पुर्‍याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । काम सकिएर विद्युत् सञ्चालन भएको पाँच महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताए ।

“बाढीले बिजुलीको कुलो र पावरहाउसमा ठूलो क्षति गरेको थियो, गाउँकै युवा मिलेर करिब एक महिना काम गर्‍यौँ, बिजली छिट्टै नै बाल्यौँ, तर अहिलेसम्म पनि पूरा पैसा पाउन सकेको छैनौँ”, विकले भने, “काम गरेको पैसा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ ।” मजदुरी गरेरै पाँच जनाको परिवार पाल्दै आएका विक काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो गर्छन् । 

बाढी पसेर विद्युतगृहमा क्षति पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दासम्म आफूहरूले खटेर काम गरेको भए पनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ । विद्युतगृहको नहरमा भौतिक संरचनामा पुगेको क्षतिलाई सामान्य बनाउन २७ दिन काम गरेको उहाँको भनाइ छ । भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजनाका अध्यक्ष पदम घर्तीमगरले ऋण धन गरेर बाढीले क्षति पुर्‍याएको विद्युत् सञ्चालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरू नै समस्यामा परेको बताउछन् । 

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले पाँच लाख दिने आश्वासन दिएको तर अहिले प्रदेशबाट आउँछ भन्दै उम्किएको बताए । गण्डकी प्रदेश सरकारले २२ लाख सहयोग गर्ने भने पनि त्यो सहयोगसमेत अझैसम्म नपाएको उको दुखेसो छ । “बाढीले पीडित बनेका गाउँलेलाई लगाएर काम गरियो, उनीहरूले पैसापैसा भनेर अत्याएका छन् तर आयोजनासँग पैसा छैन, कहाँबाट दिने ?”

बाढीले उक्त आयोजनाको १५० मिटर कुलो बगाएको थियो भने विद्युतगृहको जेनेरेटर, टर्वाइनलगायत मेसिनरी सामानमा क्षति पुर्‍याएको थियो । बाढीले क्षति पुर्‍याएको विद्युत् मर्मत गर्नका लागि २२ लाख बढी खर्च भएको अध्यक्ष घर्तीमगरको भनाइ छ । मजदुरलाई छ लाख भुक्तानी गर्न बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि