असोज ०६, २०८१, आइतबार
               

प्रकृतिका साथ समृद्धि खोजौँ : प्रधानसेनापति थापा

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

लमजुङ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने बताएका छन् । बिहीबार सेनाको ब्यारेक निर्माणस्थल लमजुङको बेसीशहर– २ श्रीस्वारामा बृहत फलफूल वृक्षरोपण अभियानको सुरु गर्दै प्रधानसेनापति थापाले उक्त कुरा बताएका हुन् । 

उनले नेपाल सरकारको समृद्धिको लक्ष्य हासिल गर्ने योजनामा साथ दिँदै प्रकृतिको संरक्षण, फलफूलखेती र व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए । थापाले खेतबारी बाँझो राखेर विदेश जानुभन्दा यहीँको माटोमा मेहनत गरे उन्नति हासिल गर्न सकिने बताए ।

प्रधानसेनापति थापासहितको टोलीले बेसीशहर–२ को जर्गेनी सामुदायिक वनको उत्तरधारा र सोही वडाको बगालेगाउँमा निर्माणधीन नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रमासमेत वृक्षरोपण गरेको थियो । 

सोही अवसरमा प्रधानसेनापति थापाले निर्माणधीन व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको निरीक्षणसमेत गरेका थिए । फलफूल जोनका रुपमा विकास गर्न नेपाली सेना र स्थानीयवासीले बिहीबार १५ हजार ७५० वटा विभिन्न प्रकारका बिरुवा रोपेको श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले जानकारी दिए । 

उनका अनुसार नेपाली सेनाले ९ सार्वजनिक स्थान र ४ सामुदायिक स्थानमा फलफूल तथा बहुउपयोगी बिरुवा रोपेको हो । नेपाली सेनाले १३ दशमलव ५५ किमी वर्गकिलोमिटर क्षेत्रमा २० प्रकारका विभिन्न फलफूल तथा बहुउपयोगी बिरुवा रोपेकामा सार्वजनिकतर्फ दुई हजार २२५, सामुदायिकतर्फ १० हजार ४३० र नेपाली सेनातर्फ तीन हजार ९५ बिरुवा रहेका छन् ।

सेनालाई स्थानीयवासी, सामुदाायिक वनका उपभोक्ता र सर्वसाधारण नागरिकले पनि उत्साहजनकरुपमा वृक्षरोपण अभियानमा साथ दिएका थिए । नेपाली सेनाको सहयोगमा १५ हजार ७५० वटा फलफूल तथा बहुउपयोगी बिरुवा रोपिएको हो ।

यस नगरपालिका वडा नं २ मा सेनाको ब्यारेक र व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्र रहेकाले वडा नं २ लाई फलफूल जोनका रुपमा विकास गर्न वृक्षरोपण गरिएको प्रमुख सेनानी थापाले बताए ।

यो पनि