असोज ०६, २०८१, आइतबार
               

वडाध्यक्षले मापदण्ड विपरीत क्रसर राख्न खोजेपछि स्थानीय विरोधमा उत्रिए

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

कपिलवस्तु  । वाणगंग नगरपालिका–५, लोहरीबगिया वैकुण्ठपुरमा वाणगंगा नगरपालिकाका वडाध्यक्ष सहितको समूहले मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन गर्न लागेपछि स्थानीयले विरोध गरेका छन् ।

नदीदेखि १ सय मिटर र बस्तीदेखि २ सय मिटर दूरीमा उद्योग स्थापना गर्न लागेपछि स्थानीयले काम रोक्न दबाब दिएका हुन् । वाणगंगा नगरपालिकाका वडा नं. २ का अध्यक्ष विष्णु पौडेल, ५ का वडाध्यक्ष भीष्मराज भुसाल , विष्णु सापकोटा, सरोजमणि पौडेल र राम बहादुर कार्कीले संयुक्त लगानी गरी उक्त ठाउँमा  क्रसर उद्योग खोल्न लागेका थिए ‌।

उद्योग सञ्चालनका लागि सञ्चालकले आवश्यक उपकरण झार्न थालेपछि स्थानीय नमुना टोल विकास संस्था र झण्डा टोल विकास संस्थाले संयुक्त गाउँ भेला आयोजना गरी तत्काल निर्माण कार्य रोक्न दबाब दिएका छन् ‌।

​भेलामा स्थानीयवासीले ढुङ्गा पिस्ने मेसिनसहित बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न नदिन वडा, नगर, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालयमा समेत गएर धर्ना र ज्ञापन पत्र दिने र आवश्यक परे जस्तोसुकै कडा कदम चाल्न बाध्य हुने तथा यसबाट हुन सक्ने जोखिम स्वयम् बालुवा प्रशोधन उद्योग हुनुपर्ने निर्णय गरेका छन् । 

एमएसआर सिमेन्टजन्य सामग्री उत्पादन तथा बालुवा प्रशोधन नामक उद्योगले मापदण्ड नै पूरा नगरी उद्योग सञ्चालन गर्न लागेको आरोप रहेको छ। भेलामा उद्योग सञ्चालकहरूलाई बोलाए पनि सञ्चालक र जनप्रतिनिधिको समेत उपस्थिति नहुँदा स्थानीयवासी आक्रोशित भएका थिए ।

ढुङ्गा गिट्टी बालुवा जस्ता निर्माण सामग्रीको व्यवस्थापनसम्बन्धी पछिल्लो सरकारी मापदण्डलाई बेवास्ता गर्दै मानव बस्तीदेखि ५ सय मिटरको दुरीमा उद्योग सञ्चालन गर्न नपाइने नियम रहेको छ । उद्योग सञ्चालन गर्ने स्थल नजिकै विद्यालय रहेको छ, जसकारण बालबालिकाको पढाइमा समेत असर गर्ने विरोध संघर्ष समितिका अध्यक्ष सन्तोष घिमिरेले बताए । 

 


कस्तो लाग्यो ?

यो पनि