काठमाडौं । आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
उद्यमशीलता र स्वरोजगारको लागि व्यवसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंकबीच सहुलियतपूर्ण कर्जा सहजिकरण कार्यक्रम सन्चालनका गर्ने सम्झौता भएको हो ।
वैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर रकमसमेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुःन विदेशिनुपर्ने बाध्यताबाट रोकी उद्यमशिलतासँग जोडेर विदेशबाट आर्जित सीप अनुभव र पुँजी स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुर्याउने र वित्तीय पहुँच एवम् वित्तीय समावेशीतामा अभिवृद्धि गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फिनान्सियल दिनेश अमात्यले हस्ताक्षर गरेका छन् ।
अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ संसोधन अनुसार थुलुङ दुधकोशी गाउँपालिकासँग सहुलियतमा कर्जा सहजिकरण कार्यक्रम सञ्चालनका सम्झौता गरिएको बैंकले जनाएको छ ।
सहुलियतपूर्ण कर्जा लिनका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने, उद्यमशीलता र स्वरोजगारको लागि नेपालमै सम्भावना भएकाले सकारात्मक सोचको प्रवर्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउने सम्झौताको मुख्य ध्यय रहेको अध्यक्ष राईले बताए ।