जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा आँखा पिरो हुने प्रदूषण, सरकारले भन्यो– ‘सकेसम्म घरबाहिर ननिस्कनू’
काठमाडौंको वायु प्रदूषणले खतराको तह पार गर्‍यो

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

सोमबार दिनभरि काठमाडौं उपत्यकामा घाम लागेन । मङ्गलबार अपराह्नसम्म घाम लागेन । कतैकतै मधुरमधुर घाम देखियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारबाट मौसममा केही सफा हुनेछ । सोमबार र मंगललबार काठमाडौं उपत्यकामा घाम नलाग्दा अँध्यरो देखिएको छ । मंगलबारको तुलनामा सोमबार अझ अँध्यारो बढी देखिन्थ्यो । सडकमा हिँड्दा धेरैले आँखा पिरोपिरो भएको महसुस गरे । खासगरी साँझपख बाहिर हिँड्ने धेरैले यसरी आँखा पोलेको महसुस गरे ।

तर, धेरैले सामान्य धुलोका कारण यस्तो भएको भन्दै बेवास्ता गरे । तर, यो समस्या सामान्य नभई जटिल रहेको मौसमविद् तथा चिकित्सक बताउँछन् ।

यस्तो प्रदूषणले मुटु, मस्तिष्क र फोक्सोमा समस्या आउने विज्ञहरु बताउँछन् । जनस्वास्थ्यविद् डा. रवीन्द्र समीर भन्छन्, ‘मुटु, मस्तिष्क र फोक्सोमा समस्या आउनुमा ३० प्रतिशत कारण धुवाँ र धुलो हो ।’

डा. समीरका अनुसार एउटा स्वास्थ्य मानिसले औसतमा प्रतिमिनेट १२ देखि १५ पटक सास फेर्छ भने बालबालिकाले ३० देखि ४० पटकसम्म । धुलो र धुवाँ श्वासप्रश्वासबाट शरीरमा प्रवेश गर्ने गर्छ । भनाइ छ, मानिसले खानाबिना तीन साता र पानीबिना तीन दिन बाँच्न सक्छ, तर हावाबिना तीन मिनेट पनि बाँच्न सक्दैन ।

उनी थप्छन्, ‘अक्सिजन नहुँदा रगत सर्दैन र सेल÷कोशिकाहरू मर्न थाल्छन् । यस्तै, प्रदूषित हावाले पनि शरीरलाई हानी गर्छ ।’ 

वातावरण विभागले भन्यो– ‘सकेसम्म घरबाहिर ननिस्कनू’

वायु प्रदूषण बढेपछि वातावरण विभागले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ । वायु प्रदूषणसम्बन्धी सूचना निकाल्दै विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुका बिरामी बढी जोखिममा रहेको जनाएको छ । उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ । 

सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको हुनाले विभागले यो आग्रह गरेको हो । बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएकाले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले सुझाएको छ । 

त्यस्तै, तराई क्षेत्रका सहरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकाले यस्तो कार्य नगरिदिन पनि विभागले अनुरोध गरेको छ । 

विश्वकै प्रदूषित सहर काठमाडौं 

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण काठमाडौं उपत्यकाको वायुको अवस्थामा केही महिनाअघि उल्लेख्य सुधार देखिएको थियो । काठमाडौं उपत्यकालगायत विश्वभर नै वायु प्रदूषण घट्दै गइरहेको थियो ।

तर, लकडाउन खुलेसँगै सवारीसाधन, कलकारखानालगायत कारण वायुप्रदुषण बढेको छ । अर्कातर्फ पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको मौसमविद् बताउँछन् ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाअनुसार सोमबार काठमाडौंको प्रदूषण एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ थियो । अघिल्लो दिनको भन्दा यो दोब्बर भन्दा बढी हो । वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो । २४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ ।

सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७.४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ । तर, दिउँसो भने घटेको छ । दिउसो साढे दुई बजे एक्युआई २९४ पुगेको थियो । त्यसबेला भने काठमाडौंमा मधुरो घाम देखियो । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। तीन सयभन्दा माथि  जानुचाहिँ घातक हो।  यसैले अहिलेको अवस्था घातक हो ।

वायु प्रदूषणले पछिल्ला वर्षमा आमनागरिकको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । संविधानको धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको उल्लेख छ । 

उपधारा २ मा वातावरणीय प्रदूषणका कारण पीडित भए प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति भराउन पाउने प्रावधान पनि छ । ‘तर, यो लागू गराउने निकाय खै ? ’


कस्तो लाग्यो ?

यो पनि