जेठ ०६, २०८१, आइतबार
               

भीड थाम्न नसकेपछि संकटा क्षेत्रबाट छाता हटाइयो

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । छोटो समयमा (सामाजिक सञ्जालमा) भाइरल भएको न्युरोड–संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ ।

कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो ।

कोरोनापछि लगभग सुनसान यो गल्लीमा ठेलामठेल गर्दै मान्छेको घुइँचो बढ्यो । दुई साताअघि स्थानीयवासी, संकटा क्लब र वडाको सहकार्यमा यो सडकको माथिमाथि रंगीविरंगी छाता झुन्ड्याइएको थियो ।

छाताले सजिएको बाटो टिकटक प्रयोगकर्ता र आन्तरिक पर्यटकले खचाखच भरिन थाल्याे । सवारी चालक र बटुवाले बाटो नपाउने अवस्था आयो । सडक निर्माणको कामसमेत राम्ररी गर्न सकिन । यसकारण छाता हटाउनुपरेको बताइएको छ ।

‘मानिसहरू आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगायौं,’ संकटा क्लवका सचिव आशिषमान सिंहले भने,  ‘भीड व्यवस्थापन गर्न सकेनौं र हटाउने निर्णयमा पुग्यौं ।’

समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ ।

मुख्य व्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक व्यवस्थापन, सवारी आवागमनमा समेत समस्या परेको सचिव सिंहले बताए । ‘व्यापार बढाउनुभन्दा समस्या थपिएपछि सबै जना मिलेर बन्द गर्ने निष्कर्षमा पुग्यौं,’ उनले भने, ‘अलिअलि व्यापार भइरहेको पसलमा पनि छाताकै भीडले ग्राहक आउन नसकेको हामीले बुझ्यौं ।’

पुस ५ गतेदेखि संकटा सडकमा छाता राख्न सुरू गरिएको थियो । यहाँ डेढ सय मिटर सडकमाथि चार सय बढी छाता थिए । सिंहका अनुसार छातामा मात्र करिब तीन लाख खर्च भएको थियो । चाडपर्व वा मेलाजात्रामा फेरि छाता राख्नेबारे योजना बनाउने सिंहले बताए ।


कस्तो लाग्यो ?

यो पनि