चितवन । दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी कामदार भएर काम थालेका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बनेका छन् । उनकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् ।
गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थाले । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गरे ।
त्यसपछि उनका दुई वर्ष काठमाडौंको एशिया पब्लिकेशनमा बित्यो । यसपछिका ६ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताउनुभएका सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम थाले ।
चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल खोल्ने निर्णयमा पुगे । सुनगाभा पुस्तक पसल उनको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उनले एकल स्वामित्वको सम्पूर्ण किताब पसल खोलेका छन् । साथीसँग मिलेर थोक व्यापारको लागि काठमाडौंको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ ।
उनले भने, ‘भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।’ यससँगै युरेका पब्लिकेशनको उनी एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ ।
सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ ।
पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर ५० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । उनको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ । सापकोटाले भने, ‘पुस्तक पसलमा अहिले हेर्दा रु एक करोडभन्दा बढीका पुस्तक छन् ।’
एक हजार २०० रुपैयाँ मासिक पारिश्रमिक लिएर काम सुरु गरेका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् । फुर्सदको समयमा कायाकैरन दैनिक र त्यसको अनलाइन संस्करणमा समाचारसमेत लेख्ने साहित्यिक व्यक्तित्व सापकोटाले जिल्लामा पठन संस्कृतिको विकासमा आफू लागेको बताए ।
जिल्लाका लेखकको प्रकाशनको आधारसमेत बनेका सापकोटा भने, ‘लेखन र पठन संस्कृतिको विकासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।’ के कति सकिन्छ आफू यसैमा लागिरहने उनले बताए ।
मास्के पुस्तक पसलमा काम गर्दा त्यहाँ बिक्रीका लागि आएका पुस्तकको फोटो खिचेर फेसबुकमा राखेर लेखक र साहित्यकारमाझ पुर्याउने गरेका सापकोटाकोमा अहिले साहित्यकार आफैँ आउँछन् ।
पुस्तक व्यवसायबाटै एक भाइ र तीन बहिनीको बिहे मात्रै होइन, परिवार सञ्चालन गरेर व्यवसायसमेत बढाउन उनी सफल भएका छन् । आख्यानकार वसन्त पराजुलीले भने, ‘निरन्तरको मिहिनेत र मिजासिलो स्वभावकै कारण सापकोटा सफल हुनुभएको हो ।’ कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै निरन्तर लागिरहने हो भने सफलता मिल्छ भन्ने उदाहरण बनेका छन् ३७ वर्षीय सापकोटा ।