टिस्टुङ । अङ्ग्रेजी नयाँ वर्ष २०२१ सुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा सुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो लाग्न थालेको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारी नियन्त्रण गर्न लकडाउन घोषणा भएपछि ‘क्वाड’ को मजा लिन आउने पर्यटकको सङ्ख्या कमी भए पनि दशैँ–तिहारयता क्वाडको आकर्षण बढेको सञ्चालक रामशरण नेपालले बताए ।
एक वर्षअघि गेयर नेपाल प्रालि र चित्लाङको चित्लाङ रिसोर्ट प्रालिले संयुक्तरूपमा क्वाड मोटरसाइकलको व्यावसायिक सञ्चालन सुरु गरेका थिए । चित्लाङमा अहिले पाँच वटा क्वाड सञ्चालनमा रहेका छन् । चित्लाङ रिसोर्टबाट थाहा नगपालिका–९ चित्लाङ माझगाउँसम्मको कच्ची सडकको करिब सात किलोमिटर खण्डलाई क्वाड सञ्चालनको मार्ग तय गरिएको छ ।
चीनबाट प्रतिथान करिब रु ११ लाख तिरेर भित्र्याइएको क्वाड सञ्चालन गर्न स्थानीय वडा कार्यालयले अस्थायी अनुमति दिएको छ । नेपालमा क्वाड सञ्चालन तथा नियमन गर्ने विषयमा कानूनी व्यवस्था नभएको र कार्यविधिसमेत नभएकाले हाल अस्थायी अनुमति लिएर कच्ची बाटोमा सञ्चालन गरिएको सञ्चालक नेपालले जानकारी दिए ।
क्वाड मोटरसाइकल विदेशमा खासगरी मरुभूमि, हिलो र सतह नमिलेको बाटोमा साहसिक यात्राका लागि प्रयोग गर्ने गरेको पाइन्छ । चित्लाङमा पनि क्वाड चढ्नेले हिलो, चिप्लो र चट्टानी बाटोमा अझ रमाइलो हुने अनभव सुनाएका छन् । भक्तपुरबाट क्वाडको मजा लिन आउनुभएका रञ्जित व्यञ्जनकारले तुसारो पग्लेर हिलाम्मे बाटोमा क्वाड चलाउँदा निकै रमाइलो अनुभव भएको सुनाए ।
सात किलोमिटर क्वाड यात्राका लागि रिसोर्टले पर्यटकसँग तीन हजार रुपैयाँ लिने गरेको छ । यात्राअघि रिसोर्टले केही समय आवश्यक निर्देशन दिनुका साथै परीक्षणसमेत गराउने गरेको छ । पर्यटक क्वाड यात्राका लागि निस्केपछि रिसोर्टले कर्मचारीमार्फत अनुगमनसमेत गर्ने गरेको छ । यी कामका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको रिसोर्टले जनाएको छ ।
चित्लाङ धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कविता रच्नुभएको गुर्जुधारासहित लिच्छविकालीन ढुङ्गेधारा, पाटी, पौवा, धर्मशाला, नेपालकै पहिलो बाख्राको चिज, ऐतिहासिक झरना, चैत्य, चिःवहा आदिले चित्लाङ पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको रूपमा रहेको छ ।