जेठ ०४, २०८१, शुक्रबार
               

चोरी मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

सप्तरी । चोरी मुद्दाको अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि बुधबार पक्राउ परेका छन् । गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका–५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।

अदालतले २०६० असोज २७ गते गरेको फैसलामा उनलाई दुई महिना २४ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए ।

स्वावलम्वन बैकिङ्ग शाखा कार्यालय रुपनीमा यादवसमेतले रहजनी चोरी गरेको भनी चलेको मुद्दामा अदालतले कैद सजायको फैसला गरेपछि यादव फरार  थिए । जिल्ला अदालतमा पेश भएका आरोपितलाई हाल राजविराज कारागारमा कैद भुक्तानका लागि पठाइएको प्रहरी निरीक्षक द्विवेदीले बताए ।

बालिकामाथि यौन दुव्र्यवहार

पछिल्लो समय बालाधिकार हननको घटना बढ्दै गएको भनेर सरोकार पक्षले चिन्ता व्यक्त गरिरहेका बेला पुनः एक बालिका यौन दुव्र्यवहारको शिकार भएकी छन् । इन्सेक सप्तरीले गत सोमबार मात्र सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनमा अभिलेखित १३० मध्ये बालअधिकार हननको घटना मात्रै ५० वटा सार्वजनिक भएको थियो ।

सन् २०२० अन्त्य हुनु अगावै कञ्चनरुप – १२ का ३२ वर्षीय दिनेश विश्वकर्माविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले बालयौन दुव्र्यवहारको उजूरी दर्ता गरेको छ । आरोपितले यौन दुव्र्यवहार गरेको पीडितले बताएपछि उनकी आमाले दिएको उजूरी प्रहरीले दर्ता गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

पीडितकी आमाले आरोपितलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गर्न माग गरेकी छन् । घटनापछि फरार आरोपितको खोजी तीव्रताका साथ भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

धरौटी तिर्न नसक्दा कारागार

धरौटी राख्न नसकेपछि बाल यौन दुव्र्यवहारका एक आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका छन् । जिल्ला अदालतको मङ्गलबारको इजलासले आरोपित सुरुङ्गा नगरपालिका–८ का २८ वर्षीय गुदर रामलाई रु तीन लाख धरौटी राखे पुर्पक्षका लागि तारेखमा रिहा गर्ने आदेश गरेको अदालतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी द्विवेदीका अनुसार धरौटी राख्न नसकेपछि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् । आरोपितमाथि १३ वर्षीयालाई गत वर्ष पुस २६ गते यौन दुव्र्यवहार गरेको आरोप छ । विद्यालयबाट फर्किने क्रममा बाटामा एक्लै देखी आरोपितले यौन दुव्र्यवहार गरेको पीडितले बताएकी छन् । 

इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालयले उजूरी दर्ता नगरेको जनाउँदै पीडितकी हजुरआमाले दिएको रिट निवेदनमा उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालयका नाममा परमादेश गरेको थियो । परमादेशपछि जिल्ला प्रहरी कार्यालयले गत कात्तिक २७ गते उजूरी दर्ता गरी मङ्सिर २५ गते आरोपितलाई पक्राउ गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि