बैशाख १३, २०८१, बिहीबार
               

नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाली सेनाले  राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा सो यात्रा गर्न लागेको हो । 

नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर नेपाली सेनाले सो यात्रा गर्न लागेको हो । 

पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए ।

‘गोरखा नगरपालिकाको हनुमान चौताबाट तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मनुभएको गोरखा दरबार हुँदै पदयात्रा शुरु हुन्छ’, उनले भने, ‘गोरखा दरबारबाट निस्किएर सेनाको टुकडी बोर्लाङघाटमा पुगेर धादिङस्थित सेनाको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छौँ।’

तत्कालीन राजा पृथ्वीनारायण शाहकालीन पोसाकमा सेनाको टोली पदयात्रामा निस्कने उनको भनाइ छ ।

नेपाल एकीकरण तत्कालीन अभियानलाई दृष्टिगत गरी शुरु गर्न लागिएको पदयात्रा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन काठमाडौँ पुग्ने कार्यक्रम तय भएको गणपति केसीले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिका–८ स्थित बोर्लाङघाटमा स्थानीयवासीले सेनाको स्वागतका लागि झाँकी कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

पदयात्रामा तत्कालीन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिँड्ने गणपति केसीले जानकारी दिए ।

गोरखाबाट पदयात्रामा निस्किएको टोलीले धादिङको सिमानासम्म पुगेपछि धादिङस्थित सेनाको गणलाई झण्डा र टर्च गर्नेछ भने धादिङबाट नुवाकोटको सिमानासम्म  धादिङस्थित सेनाको गणले झण्डा र टर्च पुर्‍याउनेछ ।

त्यस्तै नुवाकोटमा रहेको सेनाको गणले झण्डा र टर्च काठमाडौँस्थित सेनालाई बुझाउनेछ । पदयात्रा २७ गते पृथ्वी जयन्तीका अवसरमा काठमाडौँ पुग्ने उनले बताए । गोरखा दरबारबाट ४० जनाको टोलीले पदयात्रा गर्ने गणपति केसीले जानकारी दिए ।

यसअघि गएको वर्ष पनि नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसर पारेर नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले यात्रा गरेको पदमार्ग समेटेर पदयात्रा गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि