जेठ ०२, २०८१, बुधबार
               

विद्यालय छाड्ने बढेपछि सबै विद्यालयमा दिवा खाजाको व्यवस्था

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

चितवन । माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८ सय ९२ विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको हो । नगरपालिकाले एक विद्यार्थीलाई दैनिक रु १५ का दरले विद्यालयमा बजेट पठाएर दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए ।

उनले भने, “विपन्न परिवारका विद्यार्थीले बीचमा विद्यालय छाड्ने क्रम बढेसँगै यो कार्यक्रम लागू गरिएको हो ।” विद्यालयमा विद्यार्थीहरुबीच एकरूपता ल्याउनका लागि सबै विद्यार्थीलाई कार्यक्रममा समावेश गरिएको हो ।

विद्यालयलाई विद्यार्थीका लागि हप्तामा छ दिन फरक–फरक किसिमका खाजा खुवाउन नगरपालिकाले परिपत्रसमेत गरेको छ ।

सबै विद्यालयलाई खाजामा एकरूपता ल्याउन नगरपालिकाले खाजासमेत तोकेर पठाएको छ । खाजामा लिटो, अण्डा, चना, खिर, भुजा–चनालगायतका खानेकुरा विद्यार्थीलाई दिउँसोमा दिइने गरिएको छ ।

उनले भने, “विद्यार्थीबीचको वर्गीय विभेदको अन्त्य, समानता, अपनत्व र सद्भावको विकास गर्न सकियोस् भन्ने उद्देश्य हो ।” विद्यालयमा दिवा खाजा कार्यक्रम नहुँदा १५ देखि २० प्रतिशतसम्म विद्यार्थीले विद्यालय छाडेको उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि