जेठ ०४, २०८१, शुक्रबार
               

पिप्लामोड–कलङ्की क्षेत्रमा ५०० सडक बत्ती जडान गरिने

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पिप्लामोड–नागढुङ्गा–सतुङ्गल– कलङ्की क्षेत्रमा ५ सय सडक बत्ती जडान गर्ने भएको छ । उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले सडक क्षेत्रमा हुने अपराधलाई रोक्नका लागि ५ सय  सडकबत्ती जडान गर्न लागेको हो।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्रको मुख्य सडकमा सडक बत्ती जडानका लागि नगरपालिकाले रु एक करोड रकम विनियोजन गरेको जानकारी दिए । “चन्द्रागिरिले गत महिना राजमार्ग क्षेत्रमा ६८ सिसी क्यामरा जडान गरेको छ, आउने एक महिनामा सडक बत्ती जडानको काम सक्छौँ”, नगरप्रमुख गिरीले बताए ।

चन्द्रागिरिले रु एक करोड लागतमा सिसी क्यामरा जडान गरेको हो । सिसी क्यामरा र सडक बत्ती जडानसँगै चन्द्रागिरिको राजमार्गमा हुने आपराधिक क्रियाकलाप कम हुँदै जाने विश्वास सो नगरपालिकाले लिएको छ ।

चन्द्रागिरिले सतुङ्गल–मातातीर्थ–चित्लाङ हुँदै हेटौँडा पुग्ने गणेशमान सिंह मार्गको चन्द्रागिरि नगरपालिकामा ढलानको काम तीव्र गतिमा अगाडि बढाएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

नगरपालिकाको विकासलाई उच्च प्राथमिकता दिएको सो नगरपालिकाले नगरपालिकाको भवन निर्माणसमेत अन्तिम चरणमा पुर्‍याएको छ । यस्तै, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा नेपालकै पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चन्द्रागिरिमा निर्माण हुँदैछ ।


कस्तो लाग्यो ?

यो पनि